कोरोनाले दिएको अवसर

0
61

विश्वव्यापी महामारी कोभिड–१९ ले दिएको राम्रो अवसरलाई हाम्रो मुलुकले सदुपयोग गर्न सकेन । कोरोनाको कारण नेपालीको दिनचर्यामा आमूल परिवर्तन आएको पाँच महीना बितिसकेको छ । बुद्धि जानेको भए यो अवधि मुलुक निर्माणको लागि निकै महŒवपूर्ण साबित हुन सक्ने थियो । कोरोनासँग डराउने होइन, सावधान र सतर्क मात्र रहने हो । यहाँ कोरोनाविरुद्ध आधारभूत स्वास्थ्य सतर्कता पनि नलिंदा र आवश्यकताभन्दा बढी डराउनेहरूको कारण समस्या थपिएको छ । सरकार सतर्कताको बाटोमा छ कि लापरवाह ठम्याउन गाह्रो भइसक्यो । उसलाई फुर्सद छैन र उपलब्धि पनि छैन । दूरदृष्टिविनाको अपरिपक्व कामको नतीजा यस्तै हुन्छ । सरकारले कोरोनाविरुद्ध के के न गरें भन्ने सोचेको छ, उसलाई भ्याइनभ्याई पनि छ, तर के गरिस् भन्दा केही पनि छैन ।
विदेशिएको जनशक्ति आंशिक भएपनि स्वदेश फर्केको छ । यति बेला गाउँमा युवाशक्ति भरिभराउ छ । शहरमा रोजगार गुमाएका निम्न तथा मध्यम आर्थिक अवस्थाको जनशक्ति प्रशस्त छ । शहरका सडक एवं सार्वजनिक स्थलहरू भीडभाडविहीन छन् । नागरिकको फजुल खर्च रोकिएको छ, देश तथा विदेश भ्रमण, अनावश्यक पार्टी, भोज–भतेर, मर्दा–पर्दा वा विवाह–व्रतबन्धमा हुने फजुल खर्चमा कोरोनाको कारण व्यापक कटौती भएको छ । अनुहारमा मास्कको प्रयोग गर्न थालिएपछि त युवा पुस्ताबीच अघोषित चल्ने सौन्दर्य प्रतियोगिताले विश्राम नै लिएको छ । समाज तथा देश बनाउन यसभन्दा अनुकूल वातावरण अरू के हुन सक्छ ? लकडाउन तथा निषेधाज्ञाको अवधिमा कृषि र विकास निर्माण कार्य गर्न सकिन्थ्यो । यसको निम्ति जनशक्ति, पूँजी, समय तथा वातावरण अनुकूल थियो । यस वर्ष खडेरी परेन, किसानलाई सरकारले समयमा मल, बीउ र जेटिए मात्रै उपलब्ध गरिदिएको भएपनि कृषि उत्पादन मनग्य हुने थियो । कोरोनाकालमा मकै र वर्षे धान भित्रिइसकेको छ भने असोज–कात्तिकमा पाक्ने धानबाली अहिले खेतमा छ । धानमा मल आवश्यक परेको बेला बल्ल सरकारले बङ्गलादेशसँग पैंचो माग्दैछ । नेपालको शासन सत्तामा नेपाली किसानका छोराहरू पनि छन् वा विदेशबाट आयातित व्यक्ति छन् ? शङ्का स्वाभाविक छ, नेपाली किसानका छोरा छन् भने खेतीबालीमा सिंचाइ, मल, बीउको महŒव र त्यसको समयबारे जानकारी हुनुपर्ने हो ।
जब सडकमा ट्राफिक जाम हुन्छ, तब आवगमन अवरुद्ध गरेर निर्माण तथा मरम्मत सम्भार गरिन्छ । अहिले सडक सुनसान छ, रोजगार नपाएर बसेको जनशक्ति टन्नै छ । स्वास्थ्य मापदण्ड अँगालेर विकास निर्माणको काम गरिएको भए सरकारले राहत बाँड्नुपर्ने दिन आउने थिएन, अभावको कारण नागरिकले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन । बन्द चौघेराभित्र आमुन्नेसामुन्ने बसेर मजदूरहरूले काम गर्नुपर्ने अवस्थाका उद्योगहरू कोरोना मापदण्डमा बसेर सञ्चालित छन् भने त्यही मापदण्ड अनुसार विकास–निर्माण काम गर्न किन सकिएन ? गैती, बेल्चा, कोदालो, फरुवा, हथौडा चलाउनेहरू कहिले पनि टाँसिएर काम गर्दैनन् । एकअर्का नजीक बसेर काम गर्दा चोटपटक लाग्छ भनेर हो । विकास निर्माणको काममा यस्तै हतियार प्रयोग हुने हो, जुन एकअर्कासँग टाँसिएर प्रयोग हुन सक्दैन । यसैले निर्माण श्रम र कृषिकर्म गर्नेहरूमा सङ्क्रमण दर न्यून छ । कोरोना त आएको छ, बुद्धि भने आएको छैन कि आएर गइसकेको हो ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्