सरकार आत्मनिर्भर बन्न चाहँदैन

0
43

    जो कोही आत्मनिर्भर बन्न चाहन्छ। व्यक्ति होस्, समाज वा राष्ट्र। नेपालमा आत्मनिर्भरताको कुरा उठायो भने सत्तामा बस्नेहरू तत्काल प्रतिक्रिया दिन्छन्। जुनसुकै दलको सरकार होस्, तिनले आत्मनिर्भरताको कुरा सुन्ने बित्तिकै दिने प्रतिक्रिया एउटै हो–आजको युगमा कोही पनि आत्मनिर्भर छैन। तर तिनलाई आफूसँग अभाव भएको कुरा कुनै अन्य राष्ट्रसँग खरीद गर्नु निर्भरता होइन, अभाव भएको वस्तु खरीद गर्न अन्य राष्ट्रको सामु हात पसार्नु निर्भरता हो भनी गुन्ने न सामथ्र्य हुन्छ, न त्यस्तो प्रतिजवाफ सुन्ने साहस नै। सबै कुरामा कोही पनि पूर्ण हुन सक्दैन। अमेरिकाजस्तो अति विकसित र सबैलाई सहयोग गर्न सक्ने मुलुकको मुख्य व्यापार हतियार हो, अन्न, पेय पदार्थ र त्यसपछि थोरै अन्य सामान। आवश्यकताका धेरै वस्तु उसले अन्य मुलुकबाट खरीद गर्छ। तर त्यसका लागि अरू मुलुकले सहयोग गरोस् र आफ्नो काम चलोस् भन्ने सोच्दैन। उसले त आफ्नो खनिज पदार्थ जगेडा राखेर अरू मुलुकबाट त्यसको खरीद गर्छ। यस कारण कि विश्वबाट खनिज इन्धन समाप्त भयो भने उसको भण्डारमा यो इन्धन रहिरहोस्।
    नेपालको कुरा गर्ने हो भने यस मुलुकले सियोसमेत उत्पादन गर्दैन। समयक्रममा केही उद्योगको स्थापना भएको छ, तर ती पनि सबै चीजका लागि अरूमैं निर्भर छन्। यहाँसम्म कि तिनका उत्पादन पनि विदेशले खरीद नगरिदिने हो भने उद्योग नै सुक्छ। जुन उद्योग यहींको उत्पादन खरीद गर्छ, जसको उत्पादनको खपत यहीं हुन्छ, त्यसतर्फ सत्ताधारीहरूको किञ्चित ध्यान जाँदैन। चिनीमिल सुक्दैछन्, जुट मिल सुक्यो, कपडा कारखाना पनि म–यो। यस्ता थुप्रै उदाहरणहरू छन्, जसको गिन्ती यहाँ सम्भव छैन। हामीले सोच्नुपर्ने मूल कुरा हो, हामी कम्तीमा रोजीरोटीका लागि त आत्मनिर्भर बनौं। किनकि यो हाम्रो सामथ्र्यमा छ। नेपालमा थुप्रै जग्गा छ, जसमा खेती गरेर वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्न सक्छौं। अन्न नै उत्पादन नगरेर नगदे बाली पनि प्रचुर मात्रामा उत्पादन गर्न सके, त्यसैलाई बेचेर अन्न खरीद गर्न सकिन्छ। आजको अर्थशास्त्रले पनि भन्छ, खरीद गरेको मूल्य बराबरको सामग्री उत्पादन गरी, आफूले उपभोग गरी  खरीदबराबर मूल्यको सामग्री बेच्न सकिएन भने अर्थतन्त्र असफल मानिन्छ। र त्यही भइरहेको छ। विदेशी ऋण वा अनुदान, सहयोगबेगर हाम्रो बजेटले कहिले पूर्णता पाउन सकेको छैन।
    देश कसरी चलिरहेको छ त ? प्रश्न उठ्न सक्छ। विप्रेषणबाट। तर कोरोनाकालमा विप्रेषण पनि प्राप्त हुन सक्दैन। ऐश–आराम र सुविधा नपाए पनि दुई छाक खान पुग्यो भने नागरिक सन्तुष्ट रहन्छ। तर खोइ त्यतिका लागि पनि सरकारले हातखुट्टा चलाएको ? अहिले किसानलाई मलको दरकार छ, मलको दाम दोब्बर भएको छ। मलविना अन्न उत्पादन सन्तोषजनक हुन सक्दैन। यसै देशको जनशक्ति विदेशिएकोले भएका जग्गा–जमीन बाँझो बस्ने गरेको छ। मानिसमा कृषिप्रति अरुचि उत्पन्न हुँदै गएको छ। देशको दोस्रो आयको माध्यम पर्यटन हो। त्यसको त हरिबिजोग नै छ। पर्यटक आए न, पर्यटन व्यवसाय चलोस् ! सत्ताको वरिपरि घुम्ने कुनै बुद्धिजीवीले एउटा तर्क दियो–आजको युगमा कोही आत्मनिर्भर छैन, सत्ताधारीहरूका लागि बलियो कवच बन्यो। त्यो कवच कति झिनो छ जान्नका लागि ठूलो अर्थशास्त्री नै चाहिंदैन, सामान्य मानिसले पनि भनिदिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्