प्रदेश २ का ५९ हजार किसानलाई अनुदान

0
36

प्रस, जनकपुरधाम, १६ भदौ/
    लकडाउनले निम्त्याएको समस्यामा परेका ४९ हजारजनाभन्दा बढी ऋणी किसानलाई प्रदेश २ को सरकारले चार महीनाको ब्याज अनुदान दिएको छ।
    रु पाँच लाखभन्दा कम कर्जा लिएका ४७ हजार ८८२ किसानको चार महीनाको ब्याजबापतको रकम सम्बन्धित बैंकलाई प्रदेश सरकारले भुक्तानी दिएको हो।
    चार महीनाको जम्मा रु २१ करोड ६५ लाख ४९ हजार ५९९ ब्याज चुक्ता गरिदिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। त्यसैगरी, लकडाउनका कारण समस्यामा परेका व्यवसाय पुनस्र्थापनाका लागि पनि ३०७ जना किसानलाई अनुदान दिएको छ।
    उनीहरूलाई जम्मा एक करोड २० लाख ८१ हजार ६०९ रुपैयाँ अनुदान दिएको मन्त्रलयले जनाएको छ।
    प्रदेशका किसानले खेती तथा कृषि प्रयोजनका लागि बैंक, सहकारी तथा लघुवित्त जस्ता संस्थाबाट लिएको ऋणको चैतदेखि असार मसान्तसम्म चार महीनाको ब्याज प्रदेश सरकारले अनुदानस्वरूप किसानको व्यक्तिगत खातामा जम्मा गरिदिएको मन्त्रालयका योजना अधिकृत रजनीश मिश्रले जानकारी गराएका छन्।
    प्रदेशका आठ जिल्लाबाट कुल ७७ हजार ४९४ जना किसानले ब्याज अनुदानका लागि निवेदन दिएका थिए। सोमध्ये ४७ हजार ८८२ जना किसानले मात्र अनुदान पाएका हुन्। किसानले ब्याज अनुदानका लागि दिएको आवेदन प्रस्तावपछि सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले सम्बन्धित बैंकबाट समेत ऋण कर्जाको बैंक विवरण झिकाएर कर्जाको मिलान गरेर मात्र भुक्तानी गरिएको हो। यसरी भुक्तानी गराउँदा मापदण्ड नपुगेका आवेदकहरूले अनुदान पाउन नसकेका हुन्।
    मन्त्रालयले कृषि ब्याज अनुदानबाहेक व्यवसाय पुनस्र्थापनाका लागि अनुदान दिएकाहरूमा लकडाउनका कारण कृषि बालीनालीमा भएको क्षति तथा पशुपक्षी व्यवसायमा भएको क्षतिमा समेत राहत दिएको थियो।
    कृषितर्फ बालीनाली क्षति भएका किसानलाई प्रतिकट्ठा रु ७५० र प्रतिहेक्टर रु २२ हजार ५०० का दरले अनुदान दिइएको थियो भने उक्त शीर्षकमा न्यूनतम रु ५० हजारदेखि अधिकतम रु डेढ लाखसम्म अनुदान दिइएको मन्त्रालयले जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्