शिक्षा मन्त्रालयको निर्देशनको अवज्ञा, पर्साको सामुदायिक विद्यालयमा आइसोलेशन सञ्चालन

0
99

प्रस, वीरगंज, १५ भदौ/
शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेशन नबनाउन र बनेका आइसोलेशन बन्द गर्न निर्देशन दिएपनि पर्सा जिल्लाको केही स्थानीय तहमा अहिलेपनि विद्यालयहरूमा आइसोलेशन सञ्चालन भइरहेको छ।
पर्सागढी नगरपालिकाले तयार गरेको पाँचवटा आइसोलेशन केन्द्रमध्ये तीनवटा आइसोलेशन अहिले पनि विद्यालयमा छ। नेपाल आधारभूत विद्यालय हरपुर, नेपाल राष्ट्रिय मावि बडेर्वा, नेपाल राष्ट्रिय मावि बर्वाछोटैली गरी तीनवटा विद्यालयमा आइसोलेशन बनाइएको छ।
नगरपालिकाले तयार गरेको होटल कुमु प्यालेसको आइसोलेशन भरिभराउ भएको र सङ्क्रमितहरू बढ्दै गएपछि नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित तीनवटा विद्यालयमा भर्खरै आइसोलेशन तयार गरिएको हो। शिक्षा संयोजक प्रदीप चौरसियाले पाँचवटै आइसोलेशनमा ७२ जना सङ्क्रमित रहेको बताए। उनले कोरोना सङ्क्रमण शुरू भएलगत्तै नगरपालिकाले साना किसान सहकारी संस्थाको बन्द भवनमा ५० शय्याको आइसोलेशन तयार गर्दा स्थानीयले विरोध गरेपछि रोकिएको बताए। उनले खाली ठाउँमा आइसोलेशन केन्द्र बनाउन सकेको भए विद्यालय प्रयोग गर्नुपर्ने थिएन भनी प्रतिक्रिया दिए।
यसैगरी पटेर्वासुगौली गापामा पनि एउटा विद्यालयमा आइसोलेशन बनेको छ। नेरा आधारभूत फरहदवामा १० शय्याको आइसोलेशन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।
उनले शिक्षा मन्त्रालयको परिपत्र गापाको कार्यालयमा नआएको बताएका छन्। उनले विद्यालयमा आइसोलेशन नराख्न निर्देशन आएको खण्डमा गापा अन्यत्र राख्न सक्षम भएको पनि बताए। उनले तत्काल १० शय्याको आइसोलेशन विद्यालयको एउटा कक्ष्Fमा बनाइएको र विद्यालय सञ्चालन गर्नुपर्दा विसङ्क्रमित गरेर विद्यालय सञ्चालन गर्न सकिने बताए।
सखुवापरसौनी गापामा भने दुईवटा विद्यालयमा सञ्चालित आइसोलेशन हटाइएको छ। गापाको महुवन स्वास्थ्य चौकी भवन तयार भएपछि सोही भवनमा आइसोलेशन बनाइएको छ। स्वास्थ्य चौकी निर्माण हुनु पहिले दीपनारायण नमूना आदर्श मावि र मोहन आदर्श आधारभूत विद्यालय श्रीपुर पचगावाँमा आइसोलेशन थियो।
सूचना अधिकारी राजेश रौनियारले स्वास्थ्य चौकीको आइसोलेशनमा ६ जना सङ्क्रमित रहेको र विद्यालयको आइसोलेशन सङ्क्रमितको अभावमा बन्द गरिएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्