खस, आर्य र मधेस

0
44

– कुमार रुपाखेती
    हिमाल, पहाड, तराई नेपालको तीन महत्वपूर्ण क्ष्Fेत्र हो। विगतका खस शासकहरूको इतिहास पल्टाउँदा यिनीहरूले नेपालको तराई–मधेसको विकासमा विशेष ध्यान दिएको देखिन्छ। उतिबेला राणाकालमा विराटनगरमा रघुपति जुट मिल, वीरगंजमा कटन मिल, दि जुद्ध मैच फैक्ट्री, वीरगंज चुरोट फ्याक्ट्री आदि सञ्चालनमा ल्याएका थिए। पछिका खस शासकहरूले जनकपुर चुरोट कारखाना, बुटवल धागोे, वीरगंज चिनी मिल र कृषि औजार कारखाना जस्ता रोजगारमूलक र नाफामूलक उद्योग स्थापना गरे। तराईको विकासकै खातिर पूर्व–पश्चिम राजमार्ग र तराईका अन्य थुप्रै सडक निर्माण गरिए। खसहरूले मधेसमा स्थापना गरेका कतिपय मठ, मन्दिर, विद्यालय र कलेजहरू तराईका थुप्रै जिल्लाहरूमा अझै सञ्चालनमा छन् र खसहरूको विकासको कहानी सुनाइरहेका छन्। ठूला कलकारखाना, सडक, मन्दिर, स्कूल, कलेज, खेलमैदान अझैसम्म पहाड र हिमाली क्षेत्रमा बिरलै देख्न पाइन्छ। बिजुली नपुगेको पहाडी क्ष्Fेत्रमा त अझै अन्न कुटाइ–पिसाई पानीघट्टबाट गरिन्छ। तराईमा ससाना नदीमा समेत विगतका खस शासकहरूले पुल, पुलेसा निर्माण गरे तर पहाडी भेगको सहारा अझै तुइन नै हो। कतैकतै झोलुङ्गे पुल देखिन्छ। अधिकांश खस शासकहरूले तराईलाई खासै माया गरेको देखिन्छ। तराईको विकासमा खसहरूको महत्वपूर्ण योगदान पाइन्छ। तराई कृषि प्रमुख क्ष्Fेत्र भएकोले कृषकको सहयोगका लागि परवानीपुर कृषि फर्म, मनुसमारा कृषि फर्म र मल बीउबिजनको सहुलियतका लागि कृषि सामग्री संस्थान स्थापना गरिएका थिए। गण्डक नहरले कृषकहरूलाई थोरबहुत पानी दिएकै छ।
    मधेसमा सदीऔंदेखि रूढिवादी, अन्धविश्वास र उचनीचको भावना विद्यमान थियो। यहाँ यस्ता विकृति हटाउनसमेत खस शासकहरूले बेलाबखत कदम चालेको देखिन्छ। खस शासकहरूको आडमा मधेसीले नै मधेसमा बदमाशी गरेका थुप्रै उदाहरण भेटिन्छ। सत्तामा हिस्सा खोज्ने लालचीहरूले मधेसलाई उल्टा र गलत पाठ पढाए। मधेसको विकास विरोधी खस शासकलाई देखाए। यसरी विभिन्न उल्टापुल्टा तानाबाना बुनेर खस शासकको धुवाँधार विरोध गर्दै, मधेस आन्दोलनको जन्म भयो। तर खस शासन विरोधी यो आन्दोलन तराईमा अल्पसङ्ख्यामा रहेका पहाडिया समुदायतर्फ सोझियो। मधेस आन्दोलनको नाममा थुप्रै पहाडी समुदायले अनाहकमा ज्यान गुमाए, थातथलो छाड्न विवश भए। सरसर्ती हेर्दा खस शासकको विरोधको आवरणमा तराईमा एउटा समुदाय विशेषलाई तर्साउने, भगाउने कुरूपता बाहिर आयो। भूमिमाथि बसेर भूमिगत गिरोह भन्दै आतङ्क मचाउनेहरू जङ्गली च्याउसरी जन्मे। कतिपय क्षेत्रमा त मधेस आन्दोलन पहाडे समुदायका लागि तैले मेरो पानी जूठो हालिस् भन्दै बाघले बाख्रा मारेको कथाझैं प्रतीत भयो। लोभीपापीहरूले सत्ता र शासनमा हिस्सा पाए। अचेल मधेस शान्त देखिन्छ। स्वार्थमा तलमाथि पर्ने बित्तिकै गडा मुर्दा उखाड्ने काम दोहोरिन यहाँ समय लाग्दैन। साम्प्रदायिक कुरा उठाएर कुर्सी हासिल गर्नेहरू ठूला दलका दया, माया र हानथापले शासनमा पुगे तर यत्रो समय बितिसक्दासमेत मधेसमा विकासको तातोभुत्लो क्यै भएन, उल्टै मधेसका थुप्रै शहीद परिवार विचलित र निराश भई थातथैलो बेचेर अन्यत्र पलायन भइरहेको कारुणिक दृश्य देखिन थालेको छ। मधेसमा भ्रष्टाचार चरममा छ, कानून मिच्ने यहाँ अधिकतम छन्। प्रदेश २ मा त करीब तीन वर्षदेखि खाँटी मधेसवादीहरूको एकलौटी सरकार छ। तर यो सरकारको रवैयाले मधेसवादीहरू निराश छन्। जुन जोगी आएपनि कानै चिरेको भन्न थालेका छन्। तराई–मधेसमा चोरी डाँका बढी लाग्ने भएकोले यहाँ प्रहरी चौकी, स्वास्थ्य चौकी पनि धेरै थिए। मधेस आन्दोलनको क्रममा सुरक्षा चौकी, स्वास्थ्य चौकीसमेत बाँकी रहेनन्। खस शासकहरूले नै तराईको औलो, मलेरिया निर्मूल गर्न ठूलो धनराशि खन्याए। तराईको विकासको बाधक बनेका थुप्रै अवैध मदिराभट्टी खस शासकहरूले नै नष्ट पारे, जुन अहिले पलाउँदै, मौलाउँदै गएको छ। सङ्क्षेपमा भन्ने हो भने खस, आर्यहरूको तराईसँग नङ–मासुको साइनो छ। अब त मधेसवादी दलहरूलाई समेत बाबूराम भट्टराई, अशोक राईजस्ता खस आर्यको आवश्यकता भएको बुझिन्छ। खस शासकहरूले नै तराईमा जमिन्दारी प्रथा उन्मूलन गरी निमुखा, गरीब, मधेसवादीलाई सुकुम्बासी हुनबाट जोगाए। प्रदेश २ मा पुनः नयाँ हुकुमवासीहरू मौलाउँदै गएका छन्। मधेसवादी नेताहरूका अनुसार खसहरूले मधेसमा सदीऔं शासन गरे, लूट मचाए तर केही वर्षकै शासनकालमा मधेसी नेताहरू उडुस, उपियाँजस्तो मोटाएर डम्म बनेको सत्यतथ्य चाहिं हाम्रो सामु छर्लङ्ग छ।
    प्रदेश २ का मुख्यमन्त्री पढालिखा र विकासप्रेमी मान्छे हुन्। तर यिनले समेत क्यै गर्न सकेका छैनन् भनिन्छ। यिनको हात बाँधिएको छ, काम गर्न अनेक बाधा अवरोध छन् रे १ मधेसको ठूलो समस्या भनेकै अशिक्षा र साम्प्रदायिक सोच हो। मधेसको अशिक्षा, गरीबी, छुवाछूत आदि विकृति समाप्त पार्नुको सट्टा यहाँका नेताहरूले यस्ता विकृति भजाएर सत्ताको भ–याङ उक्लिने साधन बनाएका छन्। हिमाल र पहाडभन्दा मधेस आवतजावतको हिसाबले एकदमै सुगम क्षेत्र हो। गाडी–घोडामा एक दिनमा समग्र मधेस घुमघाम गर्न सकिन्छ भने पहाडी जिल्लामा अझै जिल्ला घुम्न नै हप्तौं लाग्छ। हिमाल, पहाडजस्तो रोजगारको समस्या, स्वास्थ्य र सुरक्षा चौकीको समस्या छैन तराईमा, किनकि नेपालका ९० प्रतिशत ठूला उद्योगधन्दा, कलकारखाना मधेसमैं छन्। शिक्षा आर्जन गर्न पनि हिमाल, पहाडभन्दा मधेस सुलभ र सहज छ। ठूलाबडा उद्योगी, व्यापारी तथा विदेशी कम्पनीहरूसमेत मधेसमैं लगानी गर्न उत्सुक देखिन्छन्। मधेस देशी विदेशी लगानीकर्ताको आकर्षणको केन्द्र भएपनि मधेसवादी दलहरूको अकर्मण्यताले गर्दा लगानीकर्ताहरू हच्किएको देखिन्छ। यस्तो अवस्थामा मधेसको असली हितैषी को थियो र को दुश्मन भन्ने कुरा आफै खुल्दै जानेछ। त्यसैपनि प्रतीक्षाको फल मीठो हुन्छ रे !
    अझै पनि नेपालको तराई–मधेसमा ४० प्रतिशत खस, आर्य र अन्य जनजातिको बसोवास छ। जसरी मधेसलाई अनदेखा गरेर नेपालको विकास असम्भव छ, त्यसैगरी तराईमा रहेका नेपाली भाषीलाई अनदेखा  गरेर मधेसको विकास आकाशको फल साबित हुने पक्का छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्