६५३ जना सङ्क्रमित घरमैं

92

प्रस, वीरगंज, १२ भदौ/
    पर्सामा ३३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। चैतदेखि भदौ १२ गते बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार ३३ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। जसमा एक बेवारिसे लाश र दुईजना भारतीय नागरिक छन्। उनीहरूको वीरगंजको नारायणी, गण्डक, वीरगंज हेल्थकेयर, नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो भने केहीको उपचार नपाएर मृत्यु भइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
    त्यसैगरी, अहिले गण्डक अस्पतालको आइसियूमा एकजना ६० वर्षीय सङ्क्रमितको अवस्था नाजुक रहेको गण्डक कोभिड अस्पतालका संयोजक डा उदायनारायण सिंहले बताए।
    हाल वीरगंजका दुईवटा कोभिड विशेष अस्पतालमा २९ जना सङ्क्रमित आइसियूमा रहेका छन्। कोभिड विशेष अस्पताल गण्डकमा १८ महिला र ४६ पुरुष गरी ६४ जना सङ्क्रमित उपचाररत रहेकामा ९ जना आइसियूमा छन् भने वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा ४८ पुरुष र १९ महिला गरी ६७ जना सङ्क्रमित उपचाररत छन्, जसमध्ये १४ पुरुष र ६ महिला गरी २० जना आइसियूमा रहेका नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्सामा सङ्क्रमितहरूको सङ्ख्या २ हजार पार गरिसकेको र हाल सामुदायिक आइसोलेशन (होटल, धर्मशाला, विद्यालय, क्वारेन्टाइन)मा ३४६ जना सङ्क्रमित रहेका छन् भने ६५३ जना सङ्क्रमित होम आइसोलेशनमैं बसेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्