हुस्सु बन्न पुगेको भावुक पल

0
47

– सञ्जय मित्र
    यस्तो शायदै कसैलाई कहिल्यै हुँदो हो। यदि कसैलाई यस्तै हुँदो हो त मभन्दा अझ धेरै हुस्सु हुँदो हो। मलाईजस्तो अरूलाई पनि हुँदो त मैलेजस्तै अनुभूति गर्दाे हो वा पृथक, त्यो त अनुभूति गर्नेले नै थाहा पाउँदो हो। अझ मजस्तो प्राप्त अनुभूतिलाई कसैलाई बताउँदो वा सार्वजनिक गर्दो हो त अन्यले पनि थाहा पाउँदा हुन्। अलिकति पनि नसोचेको, अलिकति पनि सुइँको नपाएको र अलिकति पनि अनुमान नलगाएको सुघटना यदि हुन्छ र त्यो पनि सयौंजनाका अगाडि एउटा प्रतिष्ठित मञ्चमा तब मनको भाव कसरी अनुहारमा आउँछ र कसरी शारीरिक भावमा मिसिएर प्रकट हुन्छ, त्यो यस प्रकारको सुघटनाको शिकार हुनेलाई राम्ररी थाहा हुनुपर्दछ।
    आयोजकले पनि कति विश्वास गर्न सकेको ? पहिले कुनै सङ्केतसम्म पनि त गर्नुपर्दछ नि। अहँ, छैन। अझ प्रमुख अतिथिलाई पनि त्यसबारे जानकारी छैन। आयोजकले कम्तीमा यो कुरा विचार गर्नुपर्ने हो कि जसको लागि यो तयार पारिंदैछ, उसलाई यस कुरामा चित्त बुझ्छ कि बुझ्दैन ? चित्त नबुझेर एकैचोटि मञ्चबाट सुनेर अस्वीकार पो गरिदिने हो कि ? अस्वीकार गरेको स्थितिमा आयोजकले कस्तो अनुभूति गर्नुपर्ने हो ? एउटा प्रतिष्ठित सार्वजनिक मञ्चमा उभिएर अस्वीकृतिको सन्दर्भमा अवमानना पनि हुन सक्छ। यसको जोखिम पनि छ। अथवा कतैबाट विरोध भयो भने पनि त आयोजकको मनमा ठेस लाग्न पुग्दछ।
    त्यस्तै डेढ सय जति सहभागी थिए होलान् कार्यक्रममा। हेटौंडाको बसपार्कनजीकैको एउटा हलमा कार्यक्रम थियो। कार्यक्रममा गन्यमान्यहरूको उपस्थिति स्वाभाविक हो। हेटौंडामा एउटा कुरा देखिएको छ, पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि हुने खालका मानिस जहिले पनि दर्जनभर हुन्छन्। प्रमुख अतिथि एकजनालाई बनाइने हो र बाँकी सबै अतिथि हुन्छन्। अतिथिहरू मञ्चमा र अन्य सहभागीहरू अगाडि बसेका हुन्छन्। दर्शक दीर्घा वा स्रोता दीर्घामा बस्नेहरू पनि आफ्नो ठाउँका आफ्नो क्षेत्रका नाम चलेका व्यक्तिहरू नै हुन्छन्। यस प्रकारको कार्यक्रमको आयोजन गर्नु अधिकारीको विशिष्टता हो। हेटौंडामा उनको कार्यक्रम हुँदा कतिपयले मलाई किन निम्त्याइएन भनेर प्रश्न पनि गर्दछन्। सम्भवतः कार्यक्रमको लागि योग्य नदेखिनेलाई कुनै बहानामा बोलाउँदैनन् गिरिजाले। कार्यक्रमको आफ्नै भव्यता हुन्छ।


    आजको कार्यक्रमको आयोजक छ, शक्ति एफएम हेटौंडा। आज २५ जेठ २०७० हो। म कार्यक्रमस्थलमा पुग्दासम्म सुरुआत हुनै खोजेको छ। यद्यपि तोकिएको समयभन्दा केही ढिलो भएको छ। रेडियोले हरेक घण्टा समयको जानकारी गराउने र आफ्ना सबै कार्यक्रम ठीक समयमा स्रोतासमक्ष प्रस्तुत गर्ने भएपनि उही रेडियोकर्मीहरूले रेडियोको स्टुडियोभन्दा बाहिर आयोजन गर्ने कार्यक्रम भने रेडियोको जस्तै ठीक समयमा शुरू र ठीक समयमा समापन हुने रहेनछ। हाम्रो समाज मनोविज्ञान र भौतिक अवस्था दुवैको कारणले नै रेडियोको आयोजन मात्र होइन, अन्य कुनै पनि संस्थाले आयोजन गरेको कार्यक्रम एकदमै तोकिएको समयमा वा ठीक समयमा शुरू हुने रहेनछ। जहाँसम्म सम्झना छ, हेटौंडामा पञ्चरामको रामबाण द्वैमासिकले तोकेकै समयमा कार्यक्रम शुरू गर्ने र समापन गर्ने दुस्साहस गरेको थियो। जम्माजम्मी दुई घण्टाको कार्यक्रम भनेर निम्त्याइएका अतिथिहरू कार्यक्रम सकिएर चिया खाँदै गर्दा “ए, म त कार्यक्रममा ढिलो भएँ भनेर मनमनै सोच्दै थिएँ, शुरू नै भॉरहेनछ” भन्दै मुस्कुराउँदै आएको र कार्यक्रम सम्पन्न भइसकेको भनेर सुनेपछि ‘हिस्स बूढी खिस्स दाँत’ भनेजस्तै भएको देखेको छु। यो त डेढ दशकपहिलेको वास्तविकता हो। एकदमै तोकिएको समयमा कार्यक्रम शुरू गर्न कहिलेकाहीं आयोजकहरू नै पुगेका हुँदैनन्।
    तोकिएको समयमा आयोजकहरू आज कार्यक्रमस्थलमा पुगे कि पुगेनन् मलाई किन थाहा छैन भने म त सहभागी हुन रौतहटबाट पुग्नुपर्छ। सार्वजनिक बसले पु–याउने हो। सबैभन्दा पहिले छुट्ने सार्वजनिक बसहरू समात्दा गरुडाबाट हेटौंडा पुग्दा साढे आठदेखि पौने नौ बजेसम्म हुने रहेछ बिहानको। कार्यक्रमको लागि मोबाइल सेलमा निम्तो त पहिलेदेखि नै थियो। आयोजकले आज पनि तीनपटक फोन गरिसकेका छन्– हिंड्नु भो ? अहिले कहाँ हुनुहुन्छ ? अब कार्यक्रममा आइपुग्न कतिबेर लाग्छ ? एक युगसम्म हेटौंडा बसेर आफ्नो युवापनको मुख्य पसिना यहींको शिक्षा र साहित्यको माटोमा बगाएको हुँ। यस कारण त्यत्ति अपरिचित हेटौंडा छैन मसित, म पनि हेटौंडालाई अपरिचित मान्दिनँ। किन किन अद्यपर्यन्त हेटौंडा मलाई आफ्नै लाग्दछ। अत्यन्त प्रिय लाग्ने अनेक कारण पनि होलान् तर भाषा, साहित्य, शिक्षा र पत्रकारितामा हेटौंडाले मलाई पहिचान दिएको हो। ठाउँ दिएको हो। जहाँ आजको कार्यक्रम छ, त्यहाँ पुग्न बसबाट ओर्लेर दुई मिनट हिंड्नुपर्दछ।
    अतिथिहरूको सूचीमा मेरो पनि नाम परेको रहेछ। बोलाइन्छु र मञ्चको एउटा कुनातिर राखिएको सुनौलो रड्ढो लाग्ने कुर्सीमा बस्छु। मञ्चका सबै कुर्सी तथा सोफाहरू सुनौला रङले चम्किएका छन्। म बसेको कुनाबाट अगाडिका सबै ठाउँ राम्ररी देखिएका छैनन् तर शान्त यस हलमा कुर्सी खाली छैनन्। रेडियोले आयोजन गरेको कार्यक्रम भएपनि आसपासका जिल्लासमेतबाट साहित्यकारहरूको भव्य उपस्थिति छ। रेडियोको कार्यक्रमजस्तो अनुभूति हुने नै छैन। स्टेशन म्यानेजर गिरिजा अधिकारीले बोलाएर सबै आएका हुन् कि प्रमुख अतिथिको नामको आकर्षणले साहित्यकारहरूको जमघट भएको हो ? कारणमा दुवैको सम्मिश्रण हुुनुपर्छ। देशकै खरो वा खस्रो लेखनको उत्कर्षमा रहने चर्चित साहित्यकार खगेन्द्र सङ्ग्रौलाको नामै काफी छ। सङ्गौलाको लेखनीको व्यक्तित्व र मोहनी अद्यपर्यन्त पाठकहरूमा उत्तिकै रहेको छ। अझ साहित्यकारहरू माझ उनीप्रतिको चुम्बकीय आकर्षण उनको विश्लेषकीय गुणले नै हुुनुपर्छ।
    उत्कर्षमा कार्यक्रम। मन्तव्य, रचना र सम्मान सबै चलिरहेका छन्। अलिकति पनि असन्तुलन कतै देखिंदैन। हो, रेडियोको कार्यक्रमजस्तो पूर्णतया व्यवस्थित। कार्यक्रम शुरू भएपछिको हरेक सेकेन्ड यस्तो छ अपलक हेरिरहूँ। यस्तो कार्यक्रमको विशेषता के हुन्छ भने कानेखुसी हुन पाउँदैन। सबैको ध्यान मञ्चतिर हुन्छ र छ अहिले पनि। कार्यक्रममा एउटा पुरस्कार पनि छ। पुरस्कारको नाम के हो ? घोषणा गरिएको छैन ? एकपटक नारायणी अञ्चलस्तरीय पुरस्कार हो भनेर सुनिन्छ। रेडियोको कार्यक्रम हो। स्वाभाविकरूपमा पत्रकारितासित होला भन्ने अनुमान हुन्छ। पत्रकारिताका साथै साहित्यिक क्षेत्रका अत्यधिक प्रतिष्ठितहरूको जमघट छ। पुरस्कार कसलाई दिइने हो ? घोषणा गरिएको छैन।
    उत्कर्षमैं रहेको समयमा अब पुरस्कार घोषणाको पालो आएको बताइन्छ। पुरस्कारको नाम हो– नारायणी साहित्य सम्मेलन सम्मान २०७०। त्यसपछि पुरस्कार प्रदान गरिदिनका लागि आग्रह हुन्छ, प्रमुख अतिथि सङ्ग्रौलालाई। सङ्ग्रौला अगाडि उभिन्छन्। मञ्चमा माइक समातेर स्टेशन म्यानेजर अधिकारी भन्दछन्– “यो पुरस्कार कसलाई दिइँदैछ भन्ने कुरा रेडियोका अध्यक्ष र म कार्यक्रम संयोजकबाहेक कसैलाई जानकारी छैन। यो पुरस्कार कसले पाउँदैछन् भन्ने घोषणा गर्नुअगाडि यस सम्मानपत्रमा लेखिएको बेहोरा पढ्न चाहन्छु।” सम्मानपत्रमा लेखिएको बेहोरा यसरी वाचन गरिएको छ– “नारायणी साहित्य सम्मेलन सम्मान २०७०। हेटौंडा मकवानपुर। श्री… …। नारायणी अञ्चलमा रही भाषा साहित्यको उन्नयन र विकासमा पु–याउनुभएको योगदानको उच्च कदर गर्दै नारायणी साहित्य सम्मेलन २०७० को अवसरमा तपाईंलाई नगद रु ५००१/– सहित नारायणी साहित्य सम्मेलन सम्मान २०७० प्रदान गरिएको छ। २५ जेठ २०७०। आयोजक शक्ति एफएम १०३.४ मेगाहर्ज। सहआयोजक साहित्य सङ्गम मकवानपुर, प्रलेस मकवानपुर, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, गजल मञ्च मकवानपुर, मातृभूमि साहित्य समाज। कार्यक्रम संयोजक गिरिजा अधिकारी, स्टेशन म्यानेजर, शक्ति एफएम १०३.४ मेगाहर्ज।”
    चाँदी फ्रेममा सजाइएको सम्मानपत्र छड्के देखिन्छ म बसेको ठाउँबाट। हलभरि खचाखच मान्छेबीच भरिएको कौतूहलपूर्ण सन्नाटा छ। प्राप्तकर्ताको नाम घोषणा गरिएको छैन। सम्मानपत्र प्रमुख अतिथि सङ्ग्रौलाको हातमा पुग्दछ। सबैको कौतूहललाई अझ चरमतिर पु–याउने शैलीमा छ मन्तव्य, प्रस्तुति र परिवेश। चरमोत्कर्षमा कौतूहल पु–याएर नामोच्चारित हुन्छ– “साहित्यकार सञ्जय साह मित्र।”
    मेरो मनोदशा सर्वथा अवर्णनीय छ। जडवत्, मूर्तिवत्, वाणीविहीन छु म। हलभरिको ताली पनि बज्दैछ तर मलाई कतै राप्ती खोलामा बजेकोजस्तो लागिरहेछ। सँगै बसेको एकजनाले– दाइ, अगाडि जानु न। भनेपछि झस्किंदै लुलो खुट्टा उठेजस्तो गर्छ। रेडियो प्राविधिकले बधाईका शब्द र सङ्गीत बजाइरहेका छन्। अझै पनि गुञ्जिरहेको छ मेरो कानमा।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्