भदौ १९ गतेदेखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय

159

प्रस, वीरगंज, १२ भदौ/
    जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १९ गतेदेखि खुकुलो गर्ने निर्णय गरेको छ।
    साउन १० गतेदेखि वीरगंज महानगरपालिका र साउन १९ गतेदेखि पर्सा जिल्लाभरि जारी गरिएको निषेधाज्ञा भदौ १२ गतेसम्म एक महीना बितेपछि आज शुक्रवार समितिको बैठकले एक सातापछि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष आसमान तामाड्ढो अध्यक्षतामा बसेको बैठकले भदौ १९ गते शुक्रवारदेखि पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो।
    बैठकले भदौ १९ गतेदेखि वीरगंज महानगरको घण्टाघरलाई आधार मानेर एक दिन सडकको दायाँ र अर्को दिन सडकको बायाँतर्फका पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्ने निर्णय गरेको छ। घण्टाघरदेखि बिर्ता र गण्डकसम्मको सडकमा यही प्रक्रिया अन्तर्गत पसलहरू सञ्चालन गर्ने निर्णय भएको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले बताए।
    वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले सङ्घको तर्फबाट आफूले सबै पसल सञ्चालन हुनुपर्ने प्रस्ताव राखेको तर सबैको सहमतिमा सो निर्णय भएको बताए।
    बैठकमा जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारी, विभिन्न राजनीतिक दलका अध्यक्ष, प्रतिनिधि, प्रहरी प्रशासनका प्रमुखहरू, मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुर, वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालय, आयुर्वेद, पत्रकार महासङ्घलगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
निषेधाज्ञाको अवज्ञा
    वीरगंज महानगरपालिकामा १० गतेदेखि र पर्सा जिल्लामा १९ गतेदेखि जारी निषेधाज्ञाको अवज्ञा भइरहेको छ।
    स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको लामो समयसम्म अत्यावश्यक वस्तुसमेतको खरीद–बिक्रीमा समय प्रदान नगरेको कारण वीरगंज महानगर र ग्रामीण क्षेत्रमा निषेधाज्ञाको अवज्ञा भइरहेको हो। जिल्ला प्रशासन कर्याालय, पर्साले निषेधाज्ञामा कडाइ गर्न यसअघि सेना पनि परिचालन गरेको थियो। सेना परिचालनको चौतर्फीरूपमा विरोध भएपछि अहिले सशस्त्र र नेपाल प्रहरीले मात्र सुरक्षा प्रदान गर्दै आएका छन्।
    वीरगंज महानगरको मुख्य सडकमा समेत केही दिनदेखि पसलहरू छिटपुटरूपमा सञ्चालन हुन शुरू भएको छ। बैंकिङ सेवा पनि शुरू भएकोले मानिसहरूको चहलपहल क्रमशः बढ्दै छ। प्रशासनले निषेधाज्ञा जारी गरेर लामो समयसम्म अत्यावश्यक वस्तुको खरीद–बिक्रीको समय नदिंदा अवज्ञा हुन थालेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्