प्रस, वीरगंज, ११ भदौ/
वीरगंज बसपार्कमा सामुदायिक आइसोलेशन केन्द्रको रूपमा सञ्चालित रानीपोखरी होटलबाट बुधवार राति २० जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन्। कुल ७७ जना सङ्क्रमितमध्ये ५ दिनअघि २० जना निको भएर घर फर्केका थिए भने बुधवार पनि वीरगंजका विभिन्न वडाका २० जना सङ्क्रमित निको भएर घर फर्केका आइसोलेशन प्रबन्धक दिलीपराज कार्कीले जानकारी गराएका छन्।
डिस्चार्ज हुने २० जनामा २१ देखि ७० वर्ष उमेर समूहका सबै पुरुष हुन्। पर्सा सुखुवाप्रसौनी एकडेर्वाका एकजना र बाँकी वीरगंजका विभिन्न वडाका हुन्। निको हुनेहरू वीरगंज–२५ श्रीसियाका २१, ३१, ३५, ३७, ४०, ५० वर्षका तथा आदर्शनगर, रानीघाट, राधेमाई, लक्ष्मनवा, नगवालगायतका बासिन्दा रहेका रानीपोखरी सामुदायिक आइसोलेशनका डा अक्षय द्विवेदीले जानकारी गराए।
होटलमा रहेका ७७ जनामध्ये ४० जना डिस्चार्ज भएपछि ३७ जना छन्। आइसोलेशनमा बसेबापत नेपाल सरकारले खर्च सहयोग गर्ने गरेको र सङ्क्रमितहरूले निश्शुल्क दुई छाक खाना, दुई छाक नास्ता तथा आवासीय सुविधा प्राप्त गर्ने गरेका छन्।