काम त भइरहेकै छ

0
56

    कोरोना महाकालका रूपमा विश्वभरि देखा परिरहेको छ। तर पनि मनोबल, जिजीविषाले मानिस काम गरिरहेको छ, बाँचिरहेको छ। विश्वका धेरै राष्ट्रले यस महामारीले भोलिका दिन झन् भयावह नहोस् भनेर मानिसका लागि अत्यावश्यक काम गर्ने चाँजोपाँजो मिलाएका छन्। अब मानिसले यस महामारीसँग डराएर होइन, डटेर सङ्घर्ष गर्दै काम पनि गरिरहने साहस देखाउन थालेको छ। हो जहाँ सरकार कमजोर छ, जनताको हितमा काम गर्न इच्छुक छैन, त्यहाँ भने यस महामारीको आतङ्कलाई अझ भयप्रद बनाउँदै मानिसलाई थुनेर राख्नमैं आफ्नो सफलता देखिरहेको छ। त्यस देशमा सुरक्षाकर्मीहरू सडकमा घुम्दै, गल्ली–छेडोमा लुक्दै, गस्ती गर्दै मानिसलाई थर्काउन र ताक परे डन्डा पनि चलाउँदै दायित्व निर्वाह गरिरहेका छन्। यति भनिरहँदा यस देशमा सबै मानिस घरभित्रै थन्केका भने छैनन्। मज्जले काम गरिरहेका छन्। दिनहुँ जङ्गलबाट काठ–दाउरा चोरी तस्करी भइरहेको समाचार प्रकाशित भइ नै रहेका छन्। वर्षात्का बेला अवैध ठानिएको नदीजन्य पदार्थको उत्खनन प्रायः सार्वजनिक भइ नै रहेका छन्।
    समाचारहरूमा दिनहुँ झैंझगडा हुने गरेको कुरामा प्रकाशमा आइ नै रहेको छ। मानिस घरमैं थन्केर बसेको भए मानवीय गतिविधिका यस्ता समाचारहरू बाहिर आउने थिएनन्। हो, मानिसको लागि अत्यावश्यक कामहरूमा भने रोक लागेको छ। शायद सरकार आवश्यक काम गर्दा कोरोना सङ्क्रमण हुने र अवाञ्छित काम गर्दा सङ्क्रमण नसर्ने सिद्धान्तमा हिंडिरहेको छ। यद्यपि कोरोनाले अभिशापका साथै मानिसलाई धेरै काम गर्ने अवसर पनि प्रदान गरेको छ। एउटा सानो उदाहरण वीरगंजकै लिउँ। वीरगंजको झन्डै ९० प्रतिशत कारोबार एउटै स्थल आदर्शनगरबाट हुन्छ। यसले गर्दा मानिस एकै ठाउँमा झुम्मिन बाध्य हुन्छ। त्यसैले लकडाउन खुकुलो हुनेबित्तिकै आदर्शनगरमा मेला लाग्न थालेको थियो र सङ्क्रमण समुदायमा प्रसार हुन पुग्यो। आदर्शनगरका आर्थिक कारोबारका स्थललाई वीरगंजमा चारैतिर फिंजाउन सके, यहाँका घना पसलहरूलाई विभिन्न टोल र गल्लीमा सार्न सके उपभोक्ता एकै ठाउँमा झुम्मिनुपर्ने आवश्यकता रहने थिएन। यसले एकै ठाउँका मानिसलाई धेरै अवसर प्राप्त हुने र अर्को ठाउँ टुलुटुलु हेरिबस्ने अवस्थाको अन्त्य हुने थियो। यो कार्य कोरोनाउत्तरकालमा पनि निकै लाभदायक हुने थियो। शहरका सबै प्रकारको प्रदूषणमा यसले कमी ल्याउने थियो।
    यसरी एउटा आदर्शनगरमा मात्र सीमित रहेको कारोबारलाई प्रत्येक वडामा कम्तीमा एक/एक वटाको दरले छरिदिन पाए सङ्घीयताको विकेन्द्रीकरणको अवधारणाले मूर्त रूप प्राप्त गर्ने थियो। प्रत्येक वडामा सबै प्रकारका सामग्रीको एक/एक वटा थोक पसल, एक/एक वटा बैंक, एक/एक वटा कपडा पसल एवंरीतले अन्य व्यापार–व्यवसाय व्यवस्थित गर्न सके सबैले महानगरको नागरिक भएको अनुभूति प्राप्त गर्ने थिए। शोकलाई शक्तिमा बदलौं भन्ने नारा दिने, सबैलाई समान अवसर प्रदान गर्ने, कोही धनी र कोही गरीब नरहोस्–सबै समान बनून् भन्ने सिद्धान्त बोकेको राजनीतिक दलको सरकारको शासनमा पनि कोरोनाले दिएको त्रासलाई अवसरमा रूपान्तरण गर्न नसक्नु दुःखदायी कुरा हो। कोरोना त्यति भयावह छैन, जति यसलाई देखाउन खोजिएको छ। सतर्कता र वर्जना गरिएका व्यवहार नदेखाउने हो भने सबै मानवीय कारोबार सञ्चालन गर्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्