सङ्क्रमितहरूले रेडियो प्रसारणलाई निरन्तरता दिंदै

0
58

प्रस, वीरगंज, ९ भदौ/
    सामुदायिक रेडियो नारायणी एफएमका सातजना कर्मचारी कोरोना सङ्क्रमित भएपछि स्टेशनलाई नै आइसोलेशन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिंइरहेका छन्।
    नारायणी एफएमका सञ्चारकर्मी, कर्मचारी गरी सातजना भएका छन्। जसमध्ये स्टेशन प्रमुख क्रान्ति साह साउन ३० गते कोरोना मुक्त भई अहिले घरमैं क्वारेन्टाइनमा छन् भने एकजना प्राविधिक पनि घरमैं आइसोलेट छन्।
    भदौ ६ गते सङ्क्रमण पुष्टि भएका पाँचजना रेडियोकर्मी अहिले स्टेशनलाई आइसोलेशन बनाएर रेडियो प्रसारण गरिरहेका छन्।
    एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाका अनुसार पछिल्लोपटक भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जनाले पिसिआर परीक्षण गराएका थिए। तीमध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित रेडियोकर्मीहरूलाई स्थानीय प्रशासनले कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो। तर उनीहरूले रेडियो स्टेशनलाई नै आइसोलेशन बनाएर बस्ने निर्णय गर्दै रेडियो प्रसारणलाई निरन्तरता दिएका छन्।
    अध्यक्ष देवकोटाले सङ्क्रमित सहकर्मीहरू कोभिड अस्पतालमा जाँदा रेडियो बन्द हुने भएकोले रेडियो स्टेशनलाई नै आइसोलेशन बनाउनुपरेको बताए। कार्यकारी अध्यक्ष देवकोटाले होम क्वारेन्टाइनमा रहेका स्टेशन प्रमुख क्रान्ति साहले घरबाटै समाचार तयार पारेर रेडियोमा पठाउने र रेडियोमा रहेका सहकर्मीहरूले समाचार पढ्ने गरेको बताए। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का महासचिवसमेत रहेका एफएमका कार्यकारी अध्यक्ष देवकोटाले नेपालमा पहिलोपटक सङ्क्रमितहरूले रेडियो स्टेशनमा बसेर नागरिकलाई सूचना दिइरहेको दाबी गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्