यसै बेला रगतको अभाव

0
56

    समस्या एकपछि अर्को थपिंदै जानु दुःखदायी हो। तर समस्या एउटा मात्र विपरीत परिस्थिति होइन, यो विभिन्न थरीका विपरीतावस्थाको समूह हो। त्यसैले समस्याहरूबाट नआत्तिने व्यक्तिलाई पुरुषार्थी भनिन्छ। अहिले कोरोना समुदायस्तरमा फैलिएको छ। सबैको स्वास्थ्य, खासगरी कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छैन। यस्तोमा रगत लिनु र दिनु पनि जोखिमपूर्ण हुन सक्छ। तर हामीसँग अर्को उपाय छैन। अहिले गर्मीको मौसम भएकोले रगतको बढी माग हुन्छ, यो बढेको माग कोरोनाका कारण होइन, अपितु मौसमको आग्रह हो। यसो त अमेरिकातिर कोरोनाको उपचार पनि रक्तदानबाट भइरहेको छ। तर त्यो रगत सबैको रगत होइन। कोरोना सङ्क्रमण लागेर निको भएका व्यक्तिले दिएको रगतबाट प्लाज्मा छुट्याई कोरोना सङ्क्रमितको रगतमा सो प्लाज्मा पठाएर उपचार भइरहेको छ। यो वा अहिले सरकारले आयात अनुमति दिएको रेमडेसिविर पनि कोरोनाको रामबाण उपचार होइन, यो त रोगलाई नियन्त्रण  गरेर सङ्क्रमितको प्राकृतिक रोग प्रतिरोधक क्ष्Fमता बढाउने साधन मात्र हो। नेपालमा प्लाज्मा थेरापी भर्खरै शुरू भएको छ। केही सङ्क्रमितमा यसको सफल परीक्षण पनि भएको छ।
    कोरोना जटिल बनेर आएको छ, यसलाई अज्ञानताले अझ बढी जटिल बनाइदिएको छ। साँपको टाउकोमा प्रहार गरेर कसैले उसलाई जित्न सक्दैन। साँपलाई मार्न उसको ढाडमा प्रहार गर्नुपर्छ। यस्तै कोरोनाको उपचारको विषयमा भइरहेको छ। यस रोगको परीक्षण र उपचारसँगै मानिसको दैनिक गतिविधिलाई सुसञ्चालित हुने वातावरण निर्माण गर्नुपर्ने हो। तर हामी नियन्त्रण, अझ नियन्त्रण र झन् नियन्त्रणमा मात्र लागेका छौं। नियन्त्रण रोगलाई होइन, मानिसलाई गर्न लागिपरेका छौं। जसको कुनै अर्थ देखिएको छैन। किनकि नियन्त्रण ठाउँमा नभएर कुठाउँमा भइरहेको छ। साँपको कम्मर भाँच्नुको साटो टाउकोमा प्रहार गर्न खोजिंदै छ, जुन कदापि सम्भव छैन। मानिसलाई नियन्त्रण गर्न खोज्नु भनेको आक्रोश उत्पत्तिको मार्गप्रशस्त गर्नु हो। किनकि मानिसका विभिन्न आवश्यकता हुन्छन्।  मानिसको समस्या कोरोना मात्र होइन, उसलाई सर्वप्रथम आजीविका चाहिन्छ। आजीविकापछि मात्र उपचार। भेंडो चालको सरकारी नियन्त्रणले मानिसमा रक्तदान गर्ने उत्साहमा पनि कमी आएको छ। रगत अभावले कोकोहोलो मच्चिएको छ। रक्तदानलाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्ने गरेका धेरै संस्थाले त्यसैले रक्तदान कार्यक्रमको आयोजना गर्न पाएनन्।
    अहिले रक्तदानका लागि संस्थागत प्रयास नभइरहेको अवस्थामा व्यक्तिविशेषको मात्र उत्साह र प्रेरणाले यदाकदा रक्तदान कार्यक्रम भइरहेको छ। कोरोनाबाट जोगिन अनावश्यक नियन्त्रण होइन, सतर्कता र जागरूकता चाहिन्छ। त्यो भनेको कोरोना सङ्क्रमण हुने अवस्थाबाट सकेसम्म जोगिएर मानवीय गतिविधिलाई निरन्तरता दिनु हो। हिजोसम्म औषधि, तरकारी खरीद गर्न गएका, क्लिनिकमा आफ्नो स्वास्थ्य अवस्था जाँच गराएर फर्किरहेका मानिसलाई समेत स्थानीयले वस्तुस्थिति जानकारी गराउँदा–गराउँदै पनि रापिलो घाममा ढाड सेक्ने गरी प्रहार गरेर राज्य वा राज्यको निकायले कुन उत्तरदायित्व निर्वाह गर्न खोजेको हो बुझिनसक्नु भएको छ। नागरिकलाई घरमा थुनेर मार्नुको साटो  सङ्क्रमणसँग जोगिने र त्यसलाई जित्ने वातावरण बनाउन पो सघाउनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्