कोरोना र अमेरिका

0
61

– कुमार रुपाखेती
    आधुनिक युद्ध सामग्री निर्माणमा अग्रणी अमेरिकाले अझैसम्म कोरोनाको खोप बनाउन सकेको छैन। कोरोनाले अमेरिकामा सबैभन्दा बढी मान्छे मरे। कुनै पनि युद्धमा अमेरिकीहरूको यति ज्यान गएको भए अमेरिकाले अहिलेसम्म त्यो मुलुकलाई मटियामेट  र नेस्तनाबुद गरिसक्थ्यो तर कोरोना समस्यामा अहिलेसम्म सिन्को भाँच्न असमर्थ देखिन्छ अमेरिका।


    कोरोनाको डरले गर्दा यहाँ पनि सार्वजनिक सभा, भीडभाड, सैलुन, जिमखाना, बाह्य उडान, रेस्टुरेन्ट आदि सबै बन्द छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरम्भमा कोरोनालाई हल्कारूपमा लिएपछि यहाँको स्थिति विकराल बनेको अमेरिकी जनमत देखिन्छ।
    कोरोनाको प्रभाव दिनानुदिन बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको मिति सार्न खोज्दा विपक्षीहरूले विरोध जनाउँदै थुप्रै विषम परिस्थितिमा समेत राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमैं सम्पन्न भएको इतिहास देखाउँदै निर्वाचन सार्ने प्रयत्न बेदखल गरिदिए। अब नोभेम्बरमैं चुनाव हुँदैछ। बरु मतदानस्थल पुग्नुको सट्टा मतदाताले कोठाबाटै मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। कोरोनाले गर्दा दैनिक उपभोग्य वस्तु र मालसामान पाउने प्रसिद्ध स्टोरहरू–कस्को, वालमार्ट र लोट्टोसमेत प्रभावित बने। होलसेलका लागि कस्को र खुद्रा सामानको लागि वालमार्ट यहाँका ख्यातिप्राप्त स्टोर मानिन्छन्। अमेरिकाको पचासवटै राज्यमा व्यापार गर्दै आएको वालमार्टमा अझै एउटै परिवारको वर्चस्व छ, जसको एक वर्षको खुद आम्दानी (सबै खर्च काटेर) नेपालको बीस वर्ष बराबरको बजेट रकम हुन आउँदो रहेछ। यसकै हाराहारीमा अलि तल कस्को स्टोर छ। भर्खरै यहाँका केही राज्यमा भारतीयहरूले ‘पटेल ब्रदर्स’ नामक स्टोर खोले तर कोरोनाको जञ्जालले गर्दा पटेल ब्रदर्सको सुरुआती प्रदर्शन राम्रो छैन। नेपाल, भारततिर कमजोर र कमसल सामानलाई ‘मेड इन चाइना’ भनिन्छ तर यहाँ सस्तो, आकर्षक, बलियो अनि टिकाउ सामानलाई चाइनिज मानिन्छ। ७० प्रतिशतभन्दा बढी बजार ओगटेको छ चिनियाँ सामानले यहाँ। नेपालमा ब्रडवे तास महँगो भएकोले हामी सस्तो चिनियाँ तास खोज्छौं, जुन हप्ता दिन पनि टिक्दैन। तर यहाँ पाइने त्यही चाइनिज तास महीनौं टिक्छ र अमेरिकाको ‘मेरिज खाल’मा चाइनिज तासकै धेरै उपयोग हुन्छ। यहाँ चीनका अन्य सामान पनि स्तरीय छन्। अमेरिकाको ह्वाइट हाउसअगाडि विभिन्न देशका नागरिक विरोध प्रदर्शन गरिरहन्छन्, अहिले कोरोनाले गर्दा रोक लागेको छ। नेपालीहरूले पनि बेलाबखत ह्वाइट हाउसअगाडि प्रदर्शन गरेको देखिन्छ। यस्ता प्रदर्शनहरू फेशनको रूपमा, भेटघाट हुने पर्वको रूपमा र केहीले कमाइ गर्ने खेतीको रूपमा हुन्छन्। २०७२ सालको भुइँचालोमा नेपालीलाई सहयोग गर्ने नाममा अमेरिकामा बसेका टाठाबाठा नेपालीहरूले मनग्गे चन्दा उठाएर भुँडी भरेका रहेछन्। भूटानी शरणार्थीका नाममा यहाँ थुप्रै नेपाली छन्। शरणार्थीहरूलाई यहाँ हरेक क्षेत्रमा सुविधा, सहयोग र सुरक्षा अनि रोजगारको राम्रो व्यवस्था छ। माओवादी पीडित भनेर थुप्रै नेपाली यहाँ राजसी जीवन बिताइरहेका देखिन्छन्। तर घरवारविहीन थुप्रै अमेरिकी सडकमा हात थापेर गुजारा गरिरहेको सरेआम देखिन्छ। अमेरिकामा पनि थोरै भएपनि रङ्गभेद, अमीरी–गरीबी, स्वदेशी–विदेशी भेदभाव रहेछ।
    अमेरिकामा अहिले कोरोनाले गर्दा चुनावीसभा हुन सकिरहेको छैन। काम गर्न सहज होस् भनी राष्ट्रपतिलाई दुईपटक विजयी बनाउने यहाँको चलन रहेछ। तर धनाढ्य ट्रम्पले कोरोनाप्रति लापरवाही गरेको आरोप खेपिरहेकाले उनले कार्यकाल दोहो–याउन फलामको च्यूरा चपाउनुपर्ने देखिन्छ। नेपालमाझैं ट्रम्पले पनि विभिन्न पदमा आफन्तलाई नियुक्त गर्नाले उनको साख गिरेको अमेरिकीहरूको अनुमान छ। एकताका कोरोनालाई चुनौती दिंदै ट्रम्प मास्क नलगाएरै सभाहरूमा पुग्नुलाई पनि अमेरिकीहरूले ज्यादती र घमण्डी ठानेका छन्। कोरोनामा वर्तमान अमेरिकी सरकारले सत्य सूचना लुकाएर संसारलाई गुमराह गरेकोसमेत आरोप छ। कोरोना र सरकारको व्यवस्थापकीय कमजोरीले गर्दा यहाँ पनि उपभोग्य वस्तुको आपूर्तिमा कमी आएको र महँगो भएको गुनासाहरू छन्। तर पनि ट्रम्प सरकारले बेरोजगारीलाई नियमित भत्ता र विद्यालयस्तरका सबै विद्यार्थीलाई अध्ययनहेतु ल्यापटप वितरण गरेको देखिन्छ।
    यहाँको चुनावीसभामा नेपालमाझैं कानको जाली च्यातिने गरी माइक बजाउने, जता पायो त्यता स्वीकृतिबेगर सभा गर्ने, आगो बाल्ने, लाठी बोकेर हिंड्नेजस्तो पाखे चलन छैन। निर्धारित समयमा, निर्धारित स्थानमा सभा सम्पन्न हुन्छ, सभ्य राजनीतिक पारामा। राष्ट्रपति निर्वाचनमा बढी मत ल्याउनेले जित्ने पनि होइन। यसअघिको राष्ट्रपति निर्वाचनमा ट्रम्पभन्दा लाखौं मत बढी ल्याएर पनि हिलारी क्लिन्टन पराजित भएकी हुन्। यहाँको मतगणना बेग्लै पाराले हुन्छ।
    अमेरिकामा सूचना प्रविधि (आइटी) पढेकाहरूको बढी माग रहेछ। आइटी पढेर आउनेहरूले यहाँ तुरुन्तै भनेजस्तो काम पाउँदा रहेछन्। यहाँ मेट्रिकसम्मको (कक्षा १२) पढाइ निश्शुल्क र त्यसपछि कलेजको पढाइ निकै महँगो हुने
भएकोले अधिकांश मध्यमवर्गीय र
गरीब अमेरिकीका बालबच्चा १२ कक्षाभन्दा माथि उक्लन सक्दैनन्। धनाढ्यहरूलाई शिक्षामा यहाँ अवसर नै अवसर छ।
    बीमाको यहाँ सा–है महत्व छ। बीमित व्यक्तिले निकै सस्तो उपचार पाउँछ भने बीमा नहुने बाहिरियाले उपचार नै गर्न सक्दैनन्। सफाइ, हरियाली, शान्ति, आधुनिक सडक र जनसुरक्षाको मामलामा अमेरिका साँच्चै विश्वकै ‘नम्बर वन’ प्रतीत हुन्छ। यदाकदा सानोतिनो चोरी र झैंझगडा कहाँ हुँदैन र ? मेक्सिकाली (मेक्सिकोका नागरिक) हरूसँग यताका मान्छेहरू अलि डराउने र सतर्क हुँदा रहेछन्। मेक्सिको र अमेरिकाबीच हजारौं किलोमिटर मरुभूमिमा खुला सीमा रहेछ। मरुभूमि तल सुरुङ बनFएर अवैध मान्छे ओसारपोसार र लागूऔषधको कारोबार हुँदो रहेछ। सीमा क्षेत्रका यस्ता सयौं सुरुङ अमेरिकी सेनाले ध्वस्त पारेको छ। त्यस कारण ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न खोजेका रहेछन्। विदेशीहरूको अमेरिका प्रवेशमा पनि ट्रम्प प्रशासन अनुदार देखिन्छ। डिभी परेका नेपालका २६ सय र अन्य मुलुकका समेत मानिसलाई अहिले अमेरिका आउन बन्देज लगाइएको छ।
    नेपालबाट यहाँ आएका शाह, राणा, सेना, प्रहरीका पूर्व हाकिमहरू ‘ह्युमन सर्भिस’मा सक्रिय छन्। ह्युमन सर्भिस भनेको अपाङ्गहरूको रेखदेख गर्ने काम। ह्युमन सर्भिस गर्नेलाई मनग्य तलबभत्ता र करमा छुट पाइन्छ। वीरगंजतिरका केहीलाई मैले यही काममा रमाएको देखें। अहिले अमेरिका कोरोनाग्रस्त र निर्वाचनको तयारीमा छ। बेरोजगारी बढेको छ। (लेखक हाल अमेरिकामा छन्।)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्