सिपिएलमा सन्दीपको उत्कृष्ट बलिङ

0
61

काठमाडौं, ७ भदौ/रासस
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। शनिवार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुर्ई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गुयानासित १४ रनले हार्न पुग्यो।
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रीनलाई दुई रनमा पभेलियन फर्काए। नवौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुर्ई रन दिए। त्यसपछि ११औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए। सो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए। यस्तै सन्दीपले खेलको १३औं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए। खेलको १५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रीनलाई आउट गरे। उक्त ओभरमा सन्दीपले दुर्ई रन मात्र खर्चिए।
टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो। १२० रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्