साझा संस्कृतिको रक्षा गरौं

0
54

– श्रीमन्नारायण
    गौरवशाली सभ्यता, संस्कृति, इतिहास, बलियो अर्थव्यवस्था, सशक्त सैन्य क्षमता, ज्ञान, विज्ञान एवं अनुसन्धानको क्षेत्रमा आफ्नो धाक, प्रभाव र उपस्थिति जमाएका देशहरूले नै विश्व राजनीतिको मानसपटलमा आफ्नो सार्थक एवं सफल उपस्थिति जनाएका हुन्छन्। सुन्दर एवं शान्त मानिएको पर्यटकीय देश विश्वको एकमात्र हिन्दू राष्ट्र भएको कारण पनि विश्वमा नाम, मान र सम्मान कमाएको थियो तर डेढ दशकअघि देशका राजनीतिक दलहरूको सहमति र समर्थनबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गर्नु तथा यस चरित्रलाई निरन्तरता दिनुको कारण बुझ्न सकिएन। नेपालको राष्ट्रिय चरित्र नै सनातन धर्म–संस्कृतिलाई मान्ने खालको रहिआएको छ। हिन्दुत्व कुनै पन्थ मात्रै होइन, यो एउटा जीवन पद्धति हो। तर हाम्रो देशको राजनीतिमा विगत तीन दशकदेखि साम्यवादी तथा समाजवादी विचारधारालाई मान्नेहरूकै वर्चस्व रहिआएका कारण नेपाली मनसाय अथवा चाहनालाई बुझ्नु आवश्यक ठानिएन र सर्वदलीय सहमतिको आधारमा देशलाई धर्मनिरपेक्ष घोषित गरियो। देशलाई धर्मनिरपेक्ष घोषित गरिसकेपछि यदाकदा हाम्रो देशका राजनीतिज्ञहरूलाई आफ्नो मान, सम्मान र पहिचानको स्मरण गर्ने अवस्था सृजना भएपछि आफ्नो धर्म–संस्कृतिको स्मरण हुने गरेको छ। हामीले बिस्तार–बिस्तारै आफ्नो धर्म, संस्कृति, मान्यता, परम्परा र पहिचानलाई गुमाउँदै गएका छौं। पश्चिमी सभ्यता संस्कृतिको जतिसुकै अनुकरण गरे पनि र धर्म परिवर्तन गरेर नयाँ धर्ममा प्रवेश गरे पनि हाम्रो पुरानो पहिचान परिवर्तन हुन सक्दैन। तसर्थ पनि निहित राजनीतिक स्वार्थले ग्रसित भएर होइन, निस्स्वार्थ भावले हाम्रो गौरवशाली सभ्यता, संस्कृति एवं परम्पराको रक्षा आवश्यक छ।


    विश्वका प्रायःजसो पुराना गौरवशाली सभ्यता, संस्कृतिहरूको अहिले अस्तित्व छैन। रोमन सभ्यता, ग्रीसको सभ्यता, मिश्रको सभ्यता र इरानी सभ्यता पनि अब त्यति बढी चर्चामा छैन। केवल चिनियाँ सभ्यता केही हदसम्म अस्तित्वमा छ तर हाम्रो पूर्वीय सभ्यता जसलाई हिन्दू सभ्यता पनि भन्ने गरिन्छ, त्यो अहिलेसम्म पनि एकनासले नै जीवन्त, ग्राह्य, लोकप्रिय तथा अनुकरणीय रहिआएको छ। ज्ञान, विज्ञान र अनुसन्धानले परिपूर्ण हिन्दू सभ्यतारूपी यस धरोहरलाई अक्षुण राख्नु हाम्रो परम कर्तव्य एवं धर्म पनि हो। नेपालमा हिन्दू धर्म, संस्कृति र सभ्यताको जरोलाई बलियो बनाउने काम कहिल्यै भएन। संस्कृत भाषाको विकास, उत्थान र संरक्षणविना हाम्रो सभ्यता र संस्कृतिलाई जोगाएर राख्न सकिंदैन। वेद, पुराण, रामायण, गीता, उपनिषद्हरूलाई गाउँ–गाउँसम्म पु–याउने तथा व्यक्ति–व्यक्तिलाई यसबाट अवगत गराउने काम भएन। विश्वका जति पनि ठूलठूला वैज्ञानिक एवं अनुसन्धानकर्ता भएका छन्, ती सबैले कुनै न कुनै रूपमा हिन्दू धर्मशास्त्रबाट अनेकौं तथ्य सङ्कलन एवं ग्रहण गरेका छन्। हामी पूर्वीय सभ्यताका सच्चा अनुयायी र संवाहक भएर पनि सही अर्थमा यसको सदुपयोग गर्न सकेनौं। हाम्रो देशको राजनीतिले धर्म र संस्कृतिलाई पनि नाफा र नोक्सानकै हिसाबले हेर्ने गरेको छ। यदि हिन्दू धर्म–संस्कृतिको उपेक्षा गरेर, खिल्ली उडाएर जनसमर्थन बढ्ने अवस्था आएको छ भने संस्कृत विद्यालयको शिक्षकको टुप्पी काट्ने भएको छ, पुराण वाचक पण्डितको हत्या भएको छ भने जनै निकाल्न लगाउनुदेखि लिएर मन्दिरमा मासु फाल्ने कामसमेत भएको छ। पशुपतिनाथको पुजारीलाई अपमानित गर्ने, तिनको नागरिकता तथा राष्ट्रियता खोज्ने र नयाँ पुजारी नियुक्ति गर्ने काम मात्रै भएन अपितु पशुपतिनाथ मन्दिरको आर्थिक कारोबारमा समेत हस्तक्षेप गर्ने काम भयो। त्यसैगरी, जनकपुरको जानकी मन्दिरमा र मनोकामना मन्दिरमा पनि यस्तै खाले तमाशाको पुनरावृत्ति गर्ने काम भयो। आखिर धर्मलाई अफिम ठान्नेहरू हिन्दू देवस्थलमा मात्रै हस्तक्षेप गर्ने काम र प्रयास किन गर्दछन् ? एकातिर हिन्दू धर्म–संस्कृतिलाई कमजोर बनाउने तथा अपमानित गर्ने काम हुन्छ भने अर्कोतिर आफ्नो सरकार सङ्कटमा पर्दा देवतालाई पनि देशको नागरिक बनाइ त्यसमा दाबी ठोक्ने काम गरिन्छ। नेपाल अब धर्मनिरपेक्ष राष्ट्र घोषित भइसकेको छ। सरकारले हिन्दू धर्मस्थलहरूलाई आर्थिक सहायता दिने गरेको छैन बरु मठमन्दिरका जग्गालाई गुठीको अधीनमा ल्याएर त्यसबाट नाफा नै कमाउने गरेको छ। एउटा राज्यको निम्ति सबै धर्म र धर्मस्थल एक समान हो भन्ने व्यवहार पनि सोही हिसाबले हुनुपर्दछ।
    हिन्दू मठमन्दिरमा प्रवेश गर्न, पूजा गर्न तथा प्रसाद ग्रहण गर्नुलाई मूर्खता, पछ्यौटेपन तथा अवैज्ञानिक बताउनेहरूलाई चर्चको प्रमुख पादरीबाट आशीर्वाद ग्रहण गर्न समस्या हुँदैन। होली वाइन ग्रहण गर्न समस्या हुँदैन र देशी विदेशी इसाई धर्मावलम्बीहरूको सम्मेलनको आयोजनामा सहयोग र समर्थन गर्नमा पनि समस्या हुँदैन तर जब विषय हिन्दू धर्म–संस्कृतिसित जोडिएको हुन्छ, अनि राजनीतिक विचारधारा र सैद्धान्तिक प्रतिबद्धतामाथि समस्या उत्पन्न हुने गर्दछ।
    नेपाल आदिकालदेखि नै हिन्दू राष्ट्र रहिआएको छ तर विगत केही वर्षयतादेखि भगवान् रामको जन्मोत्सव रामनवमी, माता जानकीको जन्मोत्सव जानकी नवमी, श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी, जनै पूर्णिमा (रक्षा बन्धन) तथा भगवान् शिवको श्रीपञ्चमीको सार्वजनिक बिदालाई समाप्त गरिएको छ। यदि उपरोक्त तिथि, उत्सव र पर्वहरूमा नेपालमा बिदा हुँदैन भने संसारको कुन देशमा हुन्छ ?
    हाम्रो देशको राजनीतिमा राष्ट्रवादलाई यति सङ्कुचितरूपमा परिभाषित गरिएको छ कि प्रत्येक सानातिना विषयमा पनि हामीलाई असुरक्षा, खतरा र अस्तित्वमा नै आँच आउने हो कि भन्ने खालका चिन्ता पनि उत्पन्न हुन थाल्छ र चाँडै नै हाम्रोतर्फबाट प्रतिक्रिया पनि व्यक्त भइहाल्छ। मर्यादा पुरुषोत्तम राम, जगतजननी जानकी, आदिदेव भगवान् शिव र भगवान् गौतमबुद्धको जीवनगाथालाई नेपाल, भारत र श्रीलङ्काले संयुक्तरूपमा प्रचारप्रसार तथा परिश्रम गरेन भने त्यो अधूरो र अपूरो हुन जानेछ। कुनै एउटा देशले मात्रै यसको सम्पूर्ण यश लिन खोजेमा यसमा सफलता मिल्नेछैन।
    मर्यादा पुरुषोत्तम श्रीराम अवधका राजा थिए र उनको राजधानी अयोध्यामा थियो। उनी मिथिलाका ज्वाइँ थिए तर श्रीलङ्कासित पनि उनको सम्बन्ध रहेको छ। त्यसैगरी, माता जानकी पुनौरा
(सीतामढी)मा प्रकट भइन्, उनी मिथिलाकी राजकुमारी, नेपालकी छोरी र अवध राज्यका महारानी थिइन्।  श्रीलङ्का, वाल्मीकि आश्रम र धर्तीमा प्रवेश गरेको ठाउँ अयोध्याको चर्चाविना रामसीताको चर्चा अधूरो हुनेछ अर्थात् रामायण सर्किटले मात्रै सबै विषयलाई समेट्न सक्नेछ। भगवान् गौतमबुद्धको जन्म लुम्बिनी (नेपाल)मा भएको थियो तर उनले ज्ञानप्राप्ति भारतको बोधगया तथा महापरिनिर्वाण कुशीनगरमा प्राप्त गरे। श्रीलङ्कालीहरू बुद्ध धर्मलाई मान्दछन्। नेपालमा त हजारौं बौद्धमार्गीले इसाई धर्म स्वीकार गरिसके तसर्थ बुद्ध सर्किटले पनि नेपाल, भारत र श्रीलङ्कालाई एकअर्कासित जोडेर राख्न सक्छ। भगवान् शिवको वासस्थान कैलाश मानसरोवर हो तर पशुपतिनाथधाम, केदारनाथ, काशी विश्वनाथलगायत सबै ज्योतिर्लिङ्गहरूको समन्वयका निम्ति शिव सर्किट पनि बनाउन सकिन्छ। हिमालयदेखि लिएर हिन्द महासागरसम्मका भूभागलाई आर्यावर्त मानिएको छ। पूर्वीय सभ्यतालाई भारतवर्ष, आर्यावर्त अथवा हिन्दू सभ्यताको रूपमा परिभाषित गरिएको छ। विश्वका जति पनि सभ्यता र संस्कृतिहरू छन्, तीमध्ये हिन्दू सभ्यता र संस्कृतिलाई ज्ञानको दृष्टिकोणले धरोहर मानिन्छ। यस साझा संस्कृतिको संरक्षण, संवर्धन र विकास गर्दै यसबाट निस्स्वार्थ भावले लाभान्वित हुनु हामी सबैको साझा अधिकार पनि हो तर यसलाई सङ्कीर्ण राजनीतिको परिधिमा केन्द्रित राख्ने प्रयास गर्नुभएन। हाम्रो भाषा, संस्कृति, सभ्यता, धर्मशास्त्रहरू हाम्रा निम्ति बहुमूल्य रत्न तथा धरोहर हुन्, यसको रक्षा हुनुपर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्