महामारी र निषेधाज्ञामा घरेलु मदिरा बिक्री वितरण

0
52

प्रस, सेढवा, ७ भदौ/
कोरोना महामारी र निषेधाज्ञामा पनि घरेलु मदिराको बिक्री र ओसारपोसारमा नियन्त्रण हुन सकेको छैन। कोराना सङ्क्रमण नियन्त्रणका लागि पर्सा जिल्लाका केही स्थानीय तहले निषेधाज्ञामा कडाइ गरे पनि अवैध घरेलु मदिरा ओसारपोसार तथा बिक्री वितरण खुलेआम रूपमा भइरहेको छ।
पर्सा जिल्लाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएपछि अधिकांश स्थानीय तहका वडाटोलमा कडाइ गरिएको छ। जीराभवानी गाउँपालिका–२ सेढवा बजारमा औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गराइएको छ। दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ६ देखि राति ८ बजेसम्म पसल खोल्न दिने सर्वपक्षीय बैठकले नियम लागू गरेको छ। यस समयबाहेक अन्य समयमा पसल खोले रु २ हजार जरिवाना तोकिएको छ। ठोरी गाउँपालिका–५ सुवर्णपुर चोकमा औषधिपसलबाहेक अन्य सबै पसल पूर्णरूपले बन्द गराइएको छ। बिहान र बेलुका दैनिक उपभोग्य सामग्री खरीद–बिक्रीका लागि किराना तथा तरकारी पसल खोल्ने गरिएको छ। अन्य पसल खोले रु ५ हजार जरिवाना तिर्नुपर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
ठोरी गाउँपालिकाको वडा नं १ देखि ४ मा कडाइ गरिएको भएपनि सवारीसाधन आवागमनका लागि बाटो अवरोध गरिएको छैन। ठोरी गाउँपालिका–५ सुवर्णपुर र जीराभवानी गाउँपालिका–५ सखुवनियामा अवैधरूपमा उत्पादन गरिएको घरेलु मदिरा पर्साको दक्षिणी क्षेत्रमा निबार्ध पु–याइँदै छ।
जनपद तथा सशस्त्र प्रहरी एकाइका प्रमुखको मिलेमतोमा मदिराले भरिएका ग्यालेनहरू मोटरसाइकलमा लोड गरी खुद्रा विक्रेता तथा ससाना होटेलहरूमा पु–याउने कार्य भइरहेको स्थानीयले गुनासो गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्