बागमतीमा डुबेर एकजना बालिकाको मृत्यु, दुईजना बेपत्ता

93

प्रस, गरुडा, ७ भदौ/
रौतहटको बागमती नदीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ भने दुईजना बालिका बेपत्ता भएका छन्। बागमती नदीमा नुहाउने क्रममा भेलमा परेपछि डुबेर धर्मपुर गाउँका तीनजना बालिका बेपत्ता भएका थिए।
रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुर गाउँका भदई मुखियाकी १० वर्षीया छोरी पिङ्कुकुमारी मुखियाको शव आइतवार दिउँसो पौने तीन बजे बरामद भएको हो।
यसैगरी, लछुमन दासकी १२ वर्षीया छोरी सुनीताकुमारी दास र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी मुखिया नुहाउने क्रममा बागमती नदीको पानीमा डुबेर बेपत्ता भएको स्थानीय दिनेश सङ्गमले जानकारी गराएका छन्।
धर्मपुरस्थित बागमती नदीमा तीनजना बालिका नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त भएको र घटनास्थलमा खोज तथा उद्धारका लागि प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन्।
प्रहरीका साथै स्थानीयवासीले पनि बागमती नदीको पानीमा बेपत्ता बालिकाहरूको खोजी गरिरहेका छन्। डुबेर बेपत्ता भएको स्थानभन्दा निकै टाढासम्म बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ। बागमती नदीमा पानीको बहाव तेज भएकोले बालिकाहरू दक्षिणतिर बगेको हुन सक्ने अनुमान गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्