ढोंगही नदीको बहाव साबिक स्थानमा ल्याइयो

0
54


आरके पटेल, वीरगंज, ७ भदौ/
    पर्साको विन्दवासिनी गाउँपालिकाको बहुअर्वाभाठास्थित ढाेंगही नदीको बहावलाई साबिक स्थानमा ल्याइएको छ।
    नदीको दुवैतर्फ जग्गा रहेको जग्गाधनीहरूले नदीको साबिक बहावलाई परिवर्तन गरी अन्यत्र मोडेपछि स्थानीयवासी र स्थानीय तहका नेताहरू नै दुई पक्षमा विभाजित भएका थिए।
एक पक्ष्Fले नदीको बहाव साबिकबाट परिवर्तन भएकोमा खुशी मनाएका थिए भने अर्को पक्षले प्राकृतिकरूपमा बगेको नदीको बहाव परिवर्तन गर्न नहुने भन्दै साबिक स्थानमा नदीको बहाव हुनुपर्ने भनी स्थानीय सरकारलाई दबाब दिइरहेका थिए।
    यस विषयमा दुवै पक्षका स्थानीयवासी तथा नेताहरूबीच पटक–पटक झगडा तथा मनमुटाव सिर्जना भइसकेको छ र अझै पनि मनमुटाव कायमै रहेको स्थानीयको भनाइ छ।
    आवश्यक कागज प्रमाण र गाउँपालिकाको पूर्ण निर्णयको आधारमा नदीको बहावलाई गाउँपालिकाको जेसिबी र जनशक्ति प्रयोग गरेर शनिवार पुनः साबिक स्थानमा ल्याइएको हो। लामो विवादपछि गापा अध्यक्ष श्रीलाल साह मोदी तथा प्रहरीको संयुक्त प्रयासमा नदीको बहाव यथास्थानमा ल्याइएको  इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए।
    हुलाकी राजमार्गसँग जोडिएको करीब ३० बिघा जग्गा प्लटिङ गर्न नदीवरिपरिका जग्गाधनीहरूले खरीद गरेपछि नदीको जमीनसमेत निजी जग्गामा मिलाउन सजिलो हुने गरी उनीहरूले गोप्यरूपमा नदीको बहाव परिवर्तन गरेका थिए। नदीको दुवैतर्फको जग्गा किनेपछि जग्गाधनीहरूले आफूखुशी नदीको धार परिवर्तन गरेका थिए। उनीहरूले कुनै पनि निकायको स्वीकृतिबेगर नदीको बहाव रातारात तीनवटा स्काभेटर प्रयोग गरी परिवर्तन गरेका थिए।
    उक्त कार्य गैरकानूनी भएको ठहर गर्दै यसअघि नै गाउँपालिकाले निर्णय गरेर साबिक स्थानमा बहाव कायम गर्न जग्गाधनीहरूलाई निर्देशन दिंदा अटेर गरेकाले गाउँपालिकाले नै नदीको बहाव साबिक स्थानमा ल्याएको र सोबापत लागेको सम्पूर्ण खर्च जग्गाधनीहरूबाट कानून अनुसार असुलउपर गरिने गापा अध्यक्ष मोदीले बताएका छन्।
    जग्गाधनीहरूले नदीको बहाव परिवर्तन गर्दा नदीको जग्गा करीब १० बिघा सित्तैमा कब्जा गर्न पाउँथे। यससँगै नदीबाट परम्परागतरूपमा सिंचाइ सुविधा लिंदै आएका किसानहरू सिंचाइबाट वञ्चित हुन्थे भने विगतमा सिंचाइको भोगाधिकार नपाएका नयाँ कृषकहरूले सिंचाइ सुविधा पाउँथे।
    जग्गाधनीहरूले स्थानीय कृषकबीचमैं फुट गराउने र नेतृत्व तहका केहीलाई आर्थिक प्रलोभनमा पारी योजनाबद्ध तरीकाले गैरकानूनी काम गरेको गापावासीको भनाइ छ।
    यस विषयमा जग्गाधनीहरूमध्येका रामनारायण ठाकुरसँग बुझ्दा नदी वरिपरिका सबै जग्गा आफूहरूको भएकोले कहींबाट पनि नदीको बहाव परिवर्तन गर्नु गलत नहुने जिकिर गरे। गाउँलेहरूको राय अनुसार नै आफूले ५ सय मिटर निजी जग्गा दिएर नदीको बहाव परिवर्तन गरी पुरानो बहाव स्थललाई सोधभर्नाको रूपमा लिएको उनको तर्क छ।
    नदीको बहाव साबिक स्थानमा फर्काउँदा गापाका बासिन्दा र सुरक्षाकर्मीको उल्लेख्य सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्