डर वा शिक्षण

157

– अनन्तकुमार लाल दास
    शिक्षकको रूपमा के बुझ्नुपर्ने हुन्छ भने केटाकेटीहरूले के सोच्छन्, कसरी सोच्छन् र उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ ? जब कुनै केटा वा केटी विद्यालय भर्ना हुन्छ, ऊ न सेतो कागज हुन्छ, न उसको दिमाग नै खाली हुन्छ, जसमा फटाफट ज्ञान भरिदिइयोस्। ऊ विद्यालयमा एक प्रकारको बुझाइ लिएर आएको हुन्छ। यस कारण शिक्षकहरूले यस्तो विधि प्रयोग गर्नुपर्छ, जसबाट उनीहरूलाई सिक्ने अवसर बढीभन्दा बढी प्राप्त होस्। यसको लागि केटाकेटीहरूको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ। उनीहरूको रुचि र चाहना बुझ्नु आवश्यक हुन्छ। उनीहरूको परिवेश, आर्थिक–सामाजिक स्थितिलाई ध्यानमा राखेर सिक्ने अवसर प्रदान गर्नुपर्ने हुन्छ। उनीहरूलाई बढीभन्दा बढी गतिविधि आधारित शिक्षा ग्रहण गर्ने अवसर दिनुपर्ने हुन्छ। केटाकेटीहरूमा वैज्ञानिक अर्थात् तर्कसङ्गत दृष्टिकोण पैदा गर्ने आधार प्रदान गर्नुपर्छ। समाजमा व्याप्त मिथ्या धारणा परित्याग गर्ने क्षमता विकसित गर्नुपर्छ। सुयोग्य नागरिक तयार गर्ने शिक्षा दिनुपर्छ। उनीहरू खुलेर साथी, अभिभावक र अध्यापक सामु जिज्ञासा प्रकट गर्न सकून्, सिकाइ बुझून् र तर्कको आधारमा बुझाइ तयार गर्न सकून्। उनीहरूमा सबैखाले कामप्रति समान बुझाइ विकसित गर्नुपर्ने हुन्छ।


    विद्यालय प्रवेश गर्दा उनीहरूमा शिक्षकप्रति एक प्रकारको डर हुन्छ। शिक्षकले पढाउनुपूर्व यस डरलाई उनीहरूको मनबाट झिकिदिनुपर्छ। यसको लागि विद्यालयको वातावरण बालमैत्री बनाउनुपर्छ। शिक्षकले उनीहरूसँग  उनका परिवार, छरछिमेक र गाउँ/शहरबारे कुरा गर्नुपर्छ। उनीहरूको अनुभव सुन्नुपर्छ। केटाकेटीहरूले शिक्षकलाई शिक्षक नठानेर साथीजस्तै खुलेर कुरा राख्न सकून्, त्यस्तो वातावरण शिक्षक स्वयंले बनाउनुपर्छ। घरमा आमाबुबासँग केटाकेटीहरूको जस्तो सम्बन्ध हुन्छ, त्यस्तै सम्बन्ध र विश्वास कक्षाकोठामा पनि भयो भने उनीहरू हरेक क्रियाकलापमा खुलेर भाग लिन्छन्। यस कारण प्रत्येक शिक्षकले स्वयंलाई केटाकेटीहरूको स्तरमा लगेर उनीहरूको उत्साह बढाउनुपर्छ र संवाद गर्ने माहोल तयार गर्नुपर्छ। शिक्षकले केटाकेटीहरूको भाषामा उनीहरूसँग संवाद गर्नुपर्छ। जस्तै बिरालो कसरी बोल्छ, उनीहरू भन्छन् ‘म्याउ’। यसैगरी, सिंह कसरी बोल्छ र जब केटाकेटीहरू सिंहको आवाज निकाल्छन्, त्यस बेला शिक्षकले डराउने अभिनय गर्दा सबै हाँस्न थाल्छन्। यस प्रकारका क्रियाकलापले शिक्षक र केटाकेटीबीच सम्बन्ध बलियो हुन्छ। कक्षाका सबै केटाकेटी समान हुँदैनन्। कोही छिटै सिक्छन्, कोही ढिलो। तर सबै केटाकेटी त्यस बेला पढ्छन्, जब पढाइको लागि मानसिकरूपले तयार हुन्छन्। पढाउने तरीका पनि बेग्लाबेग्लै हुन्छ।
    यहाँ एउटा घटना उल्लेख गर्न सान्दर्भिक ठान्दछु। एक दिन स्टाफरूममा बसेर प्रथम विश्वयुद्धको कारण विश्लेषण गरिरहेको थिएँ। त्यही बेला अचानक मेरो छेउको मेचमा केही कुरा पछारेको आवाज आयो। त्यस आवाजबाट विचलित भएर मैले के हेरें भने एकजना म्याडमले आफ्नो किताब बेस्सरी मेचमा पछारेकी रहिछन्। म्याडमको अनुहारमा रिस र उनी दिक्दार भएको प्रस्ट महसूस गरें। म्याडमको व्याकुल अनुहार पढ्ने कोशिश गरिरहेकै थिएँ, उनले बडो दुःखित स्वरमा मसँग प्रश्न गरिन्– “सर, केटाकेटीहरू मसँग किन डराउँदैनन् ?” मैले सम्पूर्ण रामकथा बुझें। म्याडमलाई के लाग्थ्यो भने उनको कक्षामा केटाकेटीहरू शान्तिपूर्वक किन बस्दैनन्, किन चलखेल गरिरहन्छन् वा उनले भनेको सुन्दैनन् वा गम्भीरतापूर्वक लिंदैनन्। दोष कसको हो ? वास्तवमा म्याडमको हाइट औसतभन्दा अलि कम थियो र उनी दुब्ली पनि थिइन् र भर्खरै एमएससी गरेकी थिइन्। अर्थात् उनी स्वयम् विद्यार्थी थिइन्। मैले हाँसेर म्याडमको कुरा सुनें र उनलाई चिसो पानी खान दिएँ। उनले रिसाएर भनिन्– “मलाई केटाकेटीहरूलाई सम्हाल्न गर्न गा–हो भइरहेको छ र तपाईं हाँसिरहनुभएको छ।” म यस कारण हाँसिरहेको थिएँ किनकि यी तिनै केटाकेटी थिए, जो मेरो कक्षामा पढ्नको लागि सधैं बेचैन रहन्छन्। मैले म्याडमलाई ‘भोलि बताउँछु’ भनेर उनको दिक्दारी हटाउने वचन दिएँं।
    घर पुगेर यस कुरामा मन्थन गरें। यदि ती केटाकेटी साँच्चीकै चकचके हुन्थे भने मलाई पनि दिक्क पार्थे। वास्तवमा समस्या कहाँ छ ? के शिक्षकहरू केटाकेटीलाई डराउनका लागि नियुक्त गरिन्छन् अथवा पढाउनका लागि ? केटाकेटीहरू जति भयभीत हुन्छन्, त्यतिकै उनीहरूमाथि प्रभुत्व स्थापित गर्न सजिलो हुन्छ भन्ने धारणा आजसम्म आम शिक्षकको मस्तिष्कमा रहेको छ। तर यो तानाशाही प्रवृत्ति हो। यही कारण होला मैले गणित, विज्ञान र अङ्ग्रेजीजस्ता सजिलो र रुचिकर विषयबाट पनि विद्यार्थीहरूलाई टाढा भागिरहेको देखेको छु। यी विषय पढाउने शिक्षकहरू स्वयंलाई विशेषाधिकार प्राप्त ठान्छन्। उनीहरूमा आफूलाई कठोर बनाएपछि मात्र बेग्लै पहिचान कायम हुने मानसिकता हुन्छ। मैले आफ्नो विद्यार्थी जीवनमा पनि के महसूस गरेको छु भने जुन शिक्षक विद्यार्थीलाई बढी कुट्ने गर्छ ती अधिकांश यिनै विषयका शिक्षक हुन्। अन्य विषय सरल ठानेर शिक्षकहरू नकुटी पाठ्यक्रम पूरा गर्छन्।
    केटाकेटीहरूको मनमा शिक्षकप्रति उत्पन्न यस्तो डरले उनीहरूलाई गलती गर्न त रोक्छ। तर जबसम्म गल्ती गदैनन्, तबसम्म राम्ररी सिक्न पनि सक्दैनन्। यसको अर्थ यो होइन कि यदि विद्यार्थीहरू तपाईंसँग डराउँदैनन् भने उनीहरू सबैथोक सिक्छन्। यदि शिक्षकको शिक्षणशैलीमा नीरसता छ, आनन्दको अभाव छ, केही नयाँ छैन वा सबैथोक बासी छ भने केटाकेटीहरू त्यही गर्छन्, जुन म्याडमको कक्षामा गरेका थिए। कक्षामा कि सुत्छन् वा ध्यान अन्तै पु–याउँछन्। यदि तपाईं यस्तो गर्न दिनुहुन्न भने उनीहरू कुरा गर्छन्, हल्ला गर्छन् र हप्काउँदा हुन सक्छ अभद्र व्यवहार पनि गरून्। यदि शिक्षकलाई पाठ कसरी रुचिकर बनाउने भन्ने कुरा थाहा छ भने तपाईंको योग्यता, शारीरिक बल, अनुहारले केही फरक पर्दैन। विद्यार्थीहरू तपाईंका हरेक कुरा सुन्छन्, बुझ्छन् र स्मृतिमा पनि राख्छन्।
    बाल मन धेरै चञ्चल हुन्छ। सधैं रुचिकर कुरातर्फ लम्कन्छ। एकपटक एउटा विद्यार्थीको रफ कापी उठाउँदा ऊ भयभीत भएको थियो। मैले कापीमा जरुर केही असामान्य कुरा छ भन्ने महसूस गरेको थिएँ। तर कापी हेर्दा अन्तिम केही पृष्ठमा एउटा राम्रो कार्टून बनाएको भेटेको थिएँ। यस्तो लाग्दथ्यो मानौं प्रिन्ट गरेको होस्। उसलाई उभिन लगाएर त्यो कार्टून सबैलाई देखाएर उसलाई स्याबासी दिएँ। पिटाइको साटो स्याबासी पाउँदा उसको अनुहार हँसिलो बनेको थियो। उसले स्याबासी पाउने कुरा सपनामा पनि सोचेको थिएन। प्रायः शिक्षकहरू विद्यार्थीको कापीमा केही अनावश्यक लेखेको देखेपछि दण्ड दिन्छन् तर केटाकेटीहरूको वास्तविक प्रतिभा कापीको अन्तिम पानाहरूमा लुकेको हुन्छ। यदि केटाकेटीहरू केही सिकिरहेका छन् भने कापी रफ होस् कि फेयर केही फरक पर्दैन।
    यदि केटाकेटीलाई कापीको अन्तिम पानामा पनि केही लेख्ने वा चित्र कोर्ने अवसर दिइँदैन भने उनीहरूले आफ्नो कल्पनालाई कहाँ मूर्त रूप दिने ? डर चाहे शिक्षकको होस्, कुनै विषयप्रति, गृहकार्यप्रति वा परिणामप्रति, यी सबैले केटाकेटीहरूलाई सिक्नबाट रोक्छ। शिक्षकको सौहार्दपूर्ण व्यवहार, रुचिकर पुस्तक, आनन्ददायी गृहकार्यले केटाकेटीहरूलाई पढ्न, लेख्न र सिक्नको लागि उत्प्रेरणा दिन्छ र उनीहरूमा पढाइप्रति आत्मबल र आत्मविश्वास जगाउँछ। यसर्थ शिक्षकले स्वयंलाई जति सरल र सहज बनाउने प्रयास गर्छ, उसको योगदान शिक्षा व्यवस्थाको लागि हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्