प्रश्नचिह्नको दायरामा प्रणाली कि विद्यार्थी ?

156


राजेश मिश्र
    “जा हमर बाबु खुब निमन से ‘फेल’ होके अइह।” नतीजा प्रकाशित हुने दिन नानी (भोजपुरीमा आमातर्फको हजुरआमालाई ‘नानी’ भनिन्छ)बाट आशीर्वचन पाउनुहुने मेरो बुबा हुन् मदन मिश्र। झन्डै ६ दशकअघि निरक्षर र सोझो ती नानी (हजुरआमा)ले नातिको उन्नति र प्रगति होस् भनी कामना गर्दै नातिलाई आशीर्वाद दिएर विद्यालय पठाएकी थिइन्। उनीबाट खुशीभावको साथ प्रदान गरिएको उक्त शब्द ‘पास’ थियो भने आशीर्वादको आशय बच्चालाई प्रोत्साहित गर्नुपर्छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। पास भएर विद्यालयबाट नाच्दै र झुम्दै घर आएका नातिलाई देखेर नानी पनि औंधी खुशी भइन् र ताजा ठेकुवा पकाएर गाउँभरि बाँडेकी थिइन् रे। शिक्षक पेशाबाट अवकाशप्राप्त ७० वर्षीय बुबा नानीको प्रोत्साहनले सफलताको खुड्किलो चढ्ने हौसला प्राप्त भएको बताउँछन्।
०००


    प्रोत्साहन र असल व्यवहारले विद्यार्थी कसरी आफ्नो दायित्वप्रति जिम्मेवारी बोध गर्दछ भन्ने कुरा देहातमा प्रचलित एक कथाबाट थाहा पाइन्छ।
    प्रवीण बुद्धिमान् केटा थियो तर पढाइको सन्दर्भमा आपवादबाहेक ऊ पनि अल्छी थियो। एकपटक उसको खुत्रुके
(बच्चाहरूले पैसा बचत गर्ने माटोको भाँडो) फुट्यो र ऊ धेरै निराश भयो। आमाले उसलाई जिम्मेवारी दिंदै आफैं बजार जान र खुत्रुके किनेर ल्याउन भनिन्। ऊ असाध्यै खुशी भयो किनभने यसै बहानामा बजार जान पाइने र त्यतिञ्जेलसम्म कोही कसैले पढ्न पनि भन्दैनन् भन्ने कुराले उसमा खुशीको सीमा थिएन।
    ऊ नजीकैको बजार गयो र खुत्रुकेको खोजी गर्न थाल्यो। एक पसलमा गयो। जुन पनि खुत्रुके हातमा उठाउँथ्यो, सोको बनावट र सुन्दरता मन परिरहेको थिएन, उसलाई। धेरै खोजी गरेपछि पनि उसले कुनै राम्रो खुत्रुके देखेन र व्याकुल हुँदै पसलबाट निस्कन के लागेको थियो कि सामुन्नेको पसलमा राखिएको रङ्गीन खुत्रुकेमा उसको आँखा प–यो। उक्त खुत्रुकेको चमक र सुन्दरता देखेर प्रवीण खुशी भयो र तुरुन्तै उसले खुत्रुके किनेर आमालाई कति छिटो देखाउँ भन्दै घर फर्कियो। आमाले छोराको पिठ्यूँ थपथपाउँदै आशीर्वादको साथै स्यावासी दिइन्।
    प्रवीणले राति उक्त खुत्रुके आफूसँगै लिएर ओछ्यानमा पल्ट्यो र केही बेरमैं निदायो। गहिरो निद्राकोे अवस्थामा उसले आवाज सुन्यो, प्रवीण–प्रवीण। ऊ सपनामा थियो। प्रवीणले महसूस ग–यो कि खुत्रुके ऊसँग कुरा गरिरहेको छ।
    खुत्रुकेः मलाई थाहा छ, तिमी मलाई धेरै मन पराउँछौ। तर के तिमीलाई थाहा छ ? म पहिले यस्तो थिइनँ।
    प्रवीणः अहँ, मलाई थाहा भएन। तिमी नै बताऊ, पहिले कस्तो थियौ ?
    खुत्रुकेः एक समय थियो, जब म माटोको काँचो खुत्रुके थिएँ। एक दिन मेरो मालिक (माटोको भाँडो बनाउने कुम्हाल)ले मलाई भुइँमा लडाएर फुटाइदिए, ममाथि पानी हाल्न थाले र मलाई हातले सम्याउन थाले। वेदनाले  कराउँदै मैले भनें, “अब भयो छोडिदेऊ।” तर उनी रोकिएनन् र स्यावासी दिंदै एकछिन–एकछिन भन्दै आफ्नो कार्य निरन्तर गरिरहे। मैले धेरै दुःख भोग्नुप–यो। ममा थोरै भएपनि परिवर्तन अवश्य भएको थियो। तर उनले पुनः मलाई उठाए र नाचिरहेको चक्कामा राखिदिए। त्यो चक्का यति तीव्र नाचिरहेको थियो कि मलाई चक्कर लाग्न थाल्यो। म चिच्याउँदै र कराउँदै भनिरहेको थिएँ, “अब छोडिदेऊ।” तर मालिकले पुनः स्यावासी दिंदै एकछिन–एकछिन भन्दै मलाई आफ्नो हात र डन्डाले तबसम्म आकार दिइरहे, जबसम्म म एक सुन्दर खुत्रुकेको आकारमा परिणत भइनँ।
    स्पष्ट कुरा भन्छु, बालपन स्वभाव अनुसार शुरूमा म गुरुसमान मालिकप्रति रिसाएको थिएँ। तर अहिले म असाध्यै खुशी छु किनभने मैले जीवनमा धेरै पीडाको भोगाइपश्चात् परिवर्तित रूप पाएकोे छु। र म मेरो कष्ट भोगाइको क्षण समाप्त भयो भन्दै मख्ख भएँ। तर म गलत थिएँ। मैले अझै कष्ट भोग्नुपर्ने बाँकी नै थियो। मालिकले मलाई उठाए र आगोको भट्टीमा हालिदिए। मैले जीवनमा कहिल्यै यतिविघ्न तापक्रम भोगेको थिइनँ। मलाई लाग्यो कि म जलेर भस्म भइहाल्नेछु। म फेरि चिच्याएँ, मलाई बाहिर निकाल्नुहोस्, अब भयो, अब भयो।
    तर मालिकले स्यावासी दिंदै भनिइरहे, “एकछिन–एकछिन।” धेरै बेरपछि मलाई भट्टीबाट बाहिर निकाले। अब म आफैंलाई देखेर छक्क परें। मेरो शक्ति धेरै गुणाले बढिइसकेको थियो। मालिक पनि मेरो सहनशीलता र सुन्दरता देखेर खुशी भए। उनले मलाई अझै चम्किलो पार्नको लागि रङ्गीन बनाउन पठाए र म आज यो सुन्दर स्वरूपमा छु।
    हो, यो पनि सत्य हो कि यस्तो शिक्षक जस्तो मालिकको सानिध्य योभन्दा अघि मैले पाएको थिइनँ र भोगाइ/सिकाइले जीवन परिवर्तन हुन्छ भन्ने कुरा पनि पत्तो थिएन। शिक्षक जस्तो मालिकको प्रोत्साहनले वेदना सहन गर्ने क्षमता विकास भयो र आज यो स्वरूपमा छु। जब म आफैंलाई हेर्छु, अनि मेरो गुरुसमान मालिकलाई स्मरण गर्छु। आज म गर्वको साथ भन्न सक्छु कि म संसारको सबैभन्दा राम्रो खुत्रुके हँु।
    प्रवीण ध्यानपूर्वक सुनिरहेको थियो र खुत्रुकेको कुरा समाप्त हुने बित्तिकै ऊ ब्यूँझियो। आज सपनामा प्रवीणले प्रोत्साहन र परिश्रमको महत्व बुझेको थियो। मोबाइल तथा सामाजिक सञ्जाललगायतका जञ्जालमा कम र पढाइमा बढी ध्यान दिन थाल्यो। तत्पश्चात् उसले सम्मानित नागरिकको रूपमा देश र परदेशमा परिचय पायो।
०००
    एसइईको नतीजा कोरोना महामारीको कारण झन्डै दुई महीना ढिलो भई गत सोमवार साँझ प्रकाशित भयो। शुरूमा परीक्षाको पर्खाइ र कोरोना कहरको कारण परीक्षा नहुने भएपछि परीक्षाफलको आतुरतामा बसेका विद्यार्थीहरू ढिलै भएपनि खुशी भएका थिए। अन्ततोगत्वा परीक्षाफल प्रकाशित भयो। अब उनीहरूले अघिल्लो कक्षा ११ को पढाइ पुनः पर्खिनुपर्ने हुन्छ। पर्खाइमाथिको पर्खाइले विद्यार्थीहरूको व्याकुलता श्रेष्ठजनहरूले बुझ्नुपर्छ।
    सामाजिक सञ्जालमा एकथरीले बधाई र अर्को थरीले विभिन्न किसिमका टीकाटिप्पणीमार्फत् आआफ्नो विचार सम्प्रेषण गरे। समग्रमा बुझ्नुपर्ने कुरा के हो भने कोरोनाको यस विपत्तिमा घरमा थन्किएर बसेका विद्यार्थी मनोवैज्ञानिकरूपले त्रसित छन्। उनीहरूको संवेदनामाथि आघात पु–याउने वचन सम्प्रेषण गर्नु किंमार्थ उचित होइन। नितान्त दुःखद विषय हो। अहिले पनि विद्यार्थीहरू कहिलेसम्म घरमैं बस्ने हुन् भन्ने अन्योल छ।
    पाँच दशकअघि गाउँघरमा कक्षा ५ उत्तीर्ण गरेका युवा पनि भेट्टाउन हम्मे थियो। समयको गतिसँगै शिक्षाको तहगत संरचना पनि परिवर्तन हुँदै गयो। कक्षा ५ सम्म प्राथमिक, कक्षा ७ सम्म निम्न माध्यमिक र कक्षा १० सम्म माध्यमिक तह हुँदै वर्तमान अवस्थामा कक्षा १२ सम्म माध्यमिक तह भएको छ। कक्षा १२ ‘गोल्डेन गेट’ हो भनेर बुझ्नु र बुझाउनु आवश्यक छ। एक राष्ट्रिय अखबारमा २०७२ देखि २०७६ सम्मको परीक्षाफलको तुलनात्मक व्याख्याले नेपाल आज पनि एसएलसी मोडेलमा छ जस्तो लाग्छ।
    जहाँ विगतमा एसएलसीको प्रश्नप्रत्र बाहिरिएको घटना जसरी निन्दनीय छ, त्यहाँ यसपटक आफैंले पठाउने नम्बरमा हेरफेर नभएको होला भन्न सकिन्न। तसर्थ प्रणालीमाथि प्रश्नचिह्न उठ्नुपर्दछ र त्यो अस्वाभाविक पनि होइन। तर समग्र विद्यार्थीको के दोष ? प्रश्नचिह्नको दायरामा प्रणाली कि विद्यार्थी ? प्रणाली चलाइरहेका पात्रउपर इमानदारिता र कार्यप्रतिको जवाफदेहिता हुनुपर्छ। कोरोना कहरको अवस्थालाई लाभजन्य परिस्थिति ठानेका किंकर्तव्यविमूढ पात्रलाई कानूनी उपचार तथा कर्तव्यपरायण पात्रलाई प्रोत्साहित गर्नुपर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्