जुवाको खालबाट १२ जना पक्राउ

0
49

प्रस, सिराहा, ३ भदौ/
    सिराहाको धनगढीमाई नगरपालिका वडा नं. १३ भाल्टाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।         गोप्य सूचनाको आधारमा मङ्गलवार राति इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। भाल्टास्थित मदनबहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा दसी प्रमाणसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।
    पक्राउ परेकाहरूमा सिरहा, सप्तरी र धनुषा जिल्लाका मानिसहरू रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जुवाको खालबाट कौडा १६ थान, नगद तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ रुपैयाँको चेकका साथै १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताएका छन्।
    पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्