एउटै सडक चारपटक वन क्षेत्रमा सारिंदै

0
60

प्रस, निजगढ, २ भदौ/
एउटै सडक चार/चार पटक सारिएको कुरा नौलो लाग्न सक्छ। तर यो सत्य हो।
बर्सेनि वर्षायाममा भेल–बाढीले सडक कटान गरिरहेपछि प्रत्येक वर्ष सडक वन क्षेत्रमा सारिंदै आएको हो। बकैया खोला किनार हुँदै गएको निजगढ—रतनपुरी सडकमा तटबन्ध गर्न वास्ता नगर्दा बर्सेनि सडक सार्नुपरेको हो।
निजगढ नगरपालिकाले सडकमा क्षति पु–याउन सक्ने खोलाको तटबन्ध गर्न चासो नराख्ने तर विकासको नाउँमा बस्तीमा सडक, नाला बनाउने कार्य गर्दै आएको छ। भएका संरचनाको संरक्षण गर्दै नयाँ विकासका कार्य गर्नुपर्नेमा संरक्षणको पाटोलाई खासै ध्यान दिएको देखिएको छैन।
यस वर्ष पनि केही रूखबिरुवा मासेर वन क्षेत्रभित्र धमाधम नयाँ सडक बनिरहेको छ। डिभिजन वन कार्यालय बारा अन्तर्गत बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र वन कार्यालय र वन समूहको समन्वयमा सो सडक खोलिएको हो।
सडक आसपासको खोला किनारमा तटबन्ध नगर्ने हो भने अर्को वर्षामा फेरि यो सडक वन क्षेत्रमा सार्नुपर्छ। नगरप्रमुख, उपप्रमुख र कर्मचारीलाई सडक सुरक्षित गर्न तटबन्ध नगरी नहुने जानकारी गराएको निजगढ नपा–१० का अध्यक्ष पद्मबहादुर मोक्तानले बताए।
प्रत्येक वर्ष सडक वन क्षेत्रमा सार्दा हालसम्म वनको ३० हेक्टर जग्गा गुमेको छ। त्यति नै मात्रामा वन क्षेत्रको कटान पनि भएको छ। यसरी बर्सेनि वन क्षेत्र कटान हुँदा सयौं रूखबिरुवा खोलाले बगाउने गरेको छ। बगेका रूखको व्यवस्थापन नगर्दा करोडौं राजस्व गुम्ने गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्