शिक्षक को हो र उसको काम के हो ?

0
92

अनन्तकुमार लाल दास
    हरेक युगमा शिक्षकलाई शिक्षाको केन्द्रमा राखिन्छ तर समयसँगसँगै उसको सामाजिक स्थिति र भूमिकामा परिवर्तन देखा पर्छ। पहिले शिक्षकलाई निर्विवाद गौरवपूर्ण ठाउँ प्राप्त थियो, जसलाई के थाहा थियो भने के पढाउनु छ र कसरी पढाउनु छ। तर यो स्थिति धेरै पहिले नै समाप्त भइसकेको छ। अहिलेको बेला शिक्षकको जवाफदेहिताको नाउँमा सार्वजनिक निवेश र त्यसबाट बढी लाभ हासिल गर्ने होड चलेको छ, जसले शिक्षकको स्वायत्तता नष्ट भएको छ। राज्यले शिक्षाको लागतका केही हिस्सा आमाबुबालाई सुम्पेर ‘ग्राहक सन्तुष्टि’ जस्ता वाक्यांश प्रयोगमा ल्याएको छ। राज्यले स्थायी शिक्षक नियुक्त गर्दैन। विभिन्न खाले नियुक्ति गरेर उनीहरूबीच सहानुभूति सखाप पार्दै असुरक्षाको भावना पैदा गरिदिएको छ, जसले गर्दा हतोत्साहित भएर उनीहरूले आत्मसमर्पण गर्नुपरेको छ र विनाशर्त हरेक निर्देशनको पालना गर्नुपरेको छ। यस कारण शिक्षा प्रणाली, विद्यार्थी र अभिभावकको मनमा शिक्षण र शिक्षकको भूमिकामा परिवर्तन देखिएको छ। यस परिवेशमा शिक्षकबारे पुनर्विचार आवश्यक छ। आज धनी–गरीबबीच बढेको दूरीको लागि पनि शिक्षकमाथि नै दोषारोपण गरिन्छ। पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, मूल्याङ्कन, शिक्षक–शिक्षा आदिको निहुँमा विभिन्न माध्यम र साधनलाई बढी जिम्मेदार र जवाफदेह बनाउने प्रयास जारी छ।
    यस सन्दर्भमा शिक्षक को होे जान्न जरुरी छ। समाजमा शिक्षकको हैसियत र भूमिका के छ ? यस प्रश्नको धेरै जवाफ भेटिन्छ, सँगै नयाँ प्रश्न पनि तेर्सिन्छ। व्यक्ति वा समूहविशेष यस सन्दर्भमा आफूखुशी धारणा व्यक्त गर्छन्। कोही शिक्षकलाई मालीको रूपमा त कोही चिकित्सकको रूपमा, कोही आमाबुबाको रूपमा त कोही मुक्तिदाताको रूपमा र कोही वैज्ञानिकको रूपमा हेर्छ। वर्तमानमा केही थप वाक्यांश पनि शिक्षकसँग जोडिन पुगेको छ र त्यो हो चिन्तनशील शिक्षक र पेशावाल शिक्षक। यी शब्दहरूको सामना एउटा शिक्षकले गर्नुपर्छ। तसर्थ के प्रश्न उठ्नु स्वाभाविक छ भने शिक्षक को हो ? ऊ के गर्छ ? जुन रूपसँग हामी सहमत हुन्छौं, त्यसले व्यवस्थित तवरले आफू र अन्य मानिसको सम्बन्धमा हाम्रो सोच, समझ र आचरण निर्माण गर्दछ। आधुनिक समाजको परिवर्तित वास्तविकता र त्यसको फलस्वरूप उत्पन्न सरोकारसँगै शिक्षाबाट अपेक्षामा पनि परिवर्तन आएको छ। यस परिवर्तनलाई बुझ्न ठोस आधार आवश्यक पर्छ। ठोस आधारबेगर शिक्षकको भूमिका र स्थितिमा भएको परिवर्तन बुझ्न गा–हो हुन्छ।
    शिक्षक को हो भन्नेबारे सामान्यजनको धारणा वा शिक्षा प्रणालीको धारणा र उसले के गर्नुपर्छ वा शिक्षाविद्, मनोवैज्ञानिक र समाजशास्त्रीहरूको शिक्षण र शिक्षकबारे रहेको धारणा सर्वविदित नै छ। यसबाहेक शिक्षकको बदलिंदो छवि पनि छ। यस परिवेशमा यदि सबै कुरालाई ध्यानमा राखेर शिक्षकको भूमिका र ठाउँसम्बन्धी धारणामा भएको परिवर्तन बुझ्ने प्रयास गरियो भने सफलता प्राप्त हुँदैन र यदि सुविधा र व्यवहारलाई मात्र हेरियो भने सातजना अन्धा मानिस र हात्तीको कथा बन्न जान्छ। आज शिक्षक शब्दको जे अर्थ छ र त्यसले जे सङ्केत गर्छ, त्यसलाई सञ्चित परिणामको रूपमा बुझ्नुपर्छ। त्यसलाई माथि उल्लिखित माध्यमले हेर्न सकिन्छ। यस लेखमा बदलिंदो प्रणालीगत र सार्वजनिक छवि र त्यसको परिणामस्वरूप शिक्षण तथा शिक्षकहरूको सामाजिक स्थितिको अध्ययन गर्नको लागि गुरु, कार्यनिर्वाहक, पेशावाल र सेवा प्रदायकको चतुर्भुज ढाँचा प्रयोग गरिएको छ।
    आज नेपालमा शिक्षकलाई प्राचीन गुरुको वंशज भन्न मिल्दैन तर शिक्षकको चर्चा–परिचर्चा, सार्वजनिक वार्ता र सामाजिक अपेक्षामा यसको झलक प्रस्ट देख्न सकिन्छ। यसको प्रभाव त्यस बेला देखिन्छ, जब शिक्षा निकायले शिक्षकको भूमिका र ठाउँको प्रशंसा त गर्छ तर शिक्षक समूहलाई कमजोर ठान्छ। अहिलेको शिक्षक र उसले गर्ने शिक्षणले गुरुको ठाउँ ओगट्न सक्दैन किनभने उसमा न गुरुजस्तो ज्ञान र आध्यात्मिक गुण छ, न समाज र शिक्षा प्रणाली शिक्षालाई पूर्णरूपेण शिक्षकमाथि छोड्न तयार छ, जस्तो प्राचीनकालमा हुन्थ्यो। प्राचीनकालमा शिष्य समाजबाट टाढा बसेर शिक्षण अवधिभरि गुरुसँगै समय व्यतीत गर्दथ्यो तर आज त्यो स्थिति छैन, न त्यस्तो गर्नु नै सम्भव छ। शिक्षण पेशाको अर्थ दृढ सङ्कल्प, साहस र लचिलोपन हो। यी यस्ता गुण हुन्, जसले शिक्षणलाई पेशाभन्दा बढी ठान्छन् र जसमा हामी केही महत्वपूर्ण वस्तु अर्पित गरिरहेका हुन्छौं।
    प्रजातन्त्रपछि नेपालमा शिक्षा राष्ट्रको जिम्मा आयो। यहाँसम्म कि निजी विद्यालयहरूलाई पनि राज्यबाट मान्यता लिनुप–यो। विद्यालय व्यवस्था र पाठ्यपुस्तक निर्धारित गरियो। जसको पालना विद्यालय र शिक्षकहरूले गर्न अनिवार्य बनाइयो। विद्यालयमा के हुनुपर्ने र के नहुनुपर्ने कुरोको निरीक्षण हुन थाल्यो। परिणामस्वरूप गुरुको रूपमा शिक्षकलाई प्राप्त स्वतन्त्रता बिस्तारै कम हुन थाल्यो। शिक्षकप्रति समाजको दृष्टिकोण परिवर्तन भयो किनभने अब ऊ आदरणीय, आत्म–सञ्चालित ज्ञान पिपासु र ज्ञान प्रदाता रहेन। अरू पेशा नपाउनेले मात्र शिक्षकको जागीर खान थाले। निरीक्षकको नकारात्मक प्रतिवेदनले जागीर जाने डरका कारण शिक्षक दिइएको निर्देशको पालनकर्ता बन्दै गयो। यसरी राज्य आफ्नो कार्यसूची सफल पार्न शिक्षकमाथि निर्भर हुन थाल्यो। राष्ट्रनिर्माणको जिम्मेवारी शिक्षकको काँधमा सुम्पियो। आज पनि राज्यले शिक्षकलाई शिक्षणइतर कार्यमा प्रयुक्त गर्ने गरेको छ। पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा शिक्षकको अपेक्षित भागीदारी नहुनुले के प्रस्ट हुन्छ भने शिक्षक मात्र कार्यनिर्वाहक हो, जसले शिक्षा निकायको इच्छा र आदेशको अक्षरशः पालना गर्नुपर्छ।
    शिक्षासम्बन्धी मुद्दाको जटिलताले सुकरात र प्लेटोजस्ता दार्शनिकहरूको ध्यान आकृष्ट ग–यो र बीसौं शताब्दीमा विश्लेषणात्मक दार्शनिकहरूले अप्रस्टताबाट बच्नको लागि विचारहरूको संज्ञानात्मक रूपबाट विश्लेषण गर्नु, तर्कसङ्गत कुरा गर्नु आदि तरीका प्रयोग गर्न जोड दिएका थिए जसले शिक्षालाई पेशाको रूप प्रदान गर्न सहयोग गरेको छ। हाम्रो नीति र दस्तावेजहरूमा निरन्तर शिक्षण र शिक्षकको महत्व बुझ्ने कुरा भनिएको छ। अहिले मानिसले शिक्षा पनि एउटा पेशा हो भन्ने कुरा बुझ्न थालेको छ, जसको लागि अन्य पेशा जस्तै गहन तयारी आवश्यक पर्छ। शैक्षिक दस्तावेजमा पनि शिक्षण एउटा पेशा हो र शिक्षक–शिक्षा शिक्षकको पेशासम्बन्धी तयारी हो। जब शिक्षकको लागि ‘पेशावाल’ शब्द प्रयोग गरिन्छ भने त्यसमा शिक्षण र शिक्षकसम्बन्धी धेरै आवश्यक शर्त र विशेषता जोडिन पुग्छ। यसको अर्थ के पनि हो भने शिक्षकले महत्वपूर्ण सामाजिक सेवा प्रदान गर्छ र जसलाई पढाउँछ, उसमाथि अधिकार पनि प्रकट गर्छ। शिक्षकको लागि ‘पेशावाल’ शब्द प्रयोग गर्दा शिक्षण कार्यको प्रत्याशित प्रकृति ओझेलमा पर्छ किनभने शिक्षणमा एकैथरीको मुद्दा समाधान गर्न थरीथरीका तरीका प्रयोग गर्नुपर्छ। शिक्षणको यस प्रत्याशित प्रकृतिको प्रमुख कारणमध्ये विषयगत ज्ञान त हो नै, मनोविज्ञान, समाजशास्त्र आदिको ज्ञान पनि आवश्यक तत्व हो र ज्ञानको यो क्षेत्र चुनौतीपूर्ण छ।
    शिक्षकबारे एउटा अर्को धारणा के पनि छ भने ऊ विक्रेता हो, जो तलब लिएर सेवा प्रदान गर्छ। हुनत शिक्षकको काम अन्य सेवाभन्दा बेग्लै प्रकृतिको हुन्छ। सेवा दिने मानिसलाई थाहा हुन्छ कि उसको ग्राहक को हो तर शिक्षण कार्य यस्तो होइन। शिक्षकको ग्राहक को हो, केटाकेटी, आमाबुबा, राज्य, जागीर दिने व्यक्ति वा संस्था वा सम्पूर्ण समाजस किनभने यी सबै कुनै न कुनै रूपमा शिक्षकसँग जोडिएका हुन्छन्। यस कारण शिक्षकको लागि कसरी अघि बढ्ने कुरा निर्धारित गर्न कठिन हुन्छ। केटाकेटीहरूमा आफ्नो अपेक्षा प्रस्ट तरीकाले व्यक्त गर्ने समझ हुँदैन। यसबाहेक ग्राहक र सेवा दिनेबीच सहमतिको जुन मौलिक सिद्धान्त छ, त्यसलाई ध्यानमा राखेर केटाकेटीहरूलाई ग्राहकको रूपमा हेर्नु सही होइन, किनभने उनीहरू आफ्नो सहमति दिन सक्दैनन्। अर्कोतिर राज्यले शिक्षाको लागत आंशिकरूपले आमाबुबालाई सुम्पेको हुनाले शिक्षा र शिक्षकमाथि उसकै प्रभुत्व रहेको छ। आज आमाबुबाहरूले आफ्नो सन्तानको शिक्षाका लागि खर्च गरिरहेका हुनाले उनीहरूको माग पनि बढेको छ। यस परिवेशमा शिक्षकको जिम्मेवारी र द्विविधा पनि बढ्दै गएको छ।
    निष्कर्षतः के भन्न सकिन्छ भने आज शिक्षकलाई कुनै नाम दिनु कठिन छ। सबैभन्दा पहिले शिक्षकप्रति समाजको त्यो विश्वास छैन, जुन गुरु बन्नका लागि आवश्यक हुन्छ। अर्को, ऊ कार्यनिर्वाहक हुन सक्दैन, किनभने आमाबुबा यति बढी माग गरिरहेका छन्। तेस्रो पेशावाल बन्न पनि सम्भव छैन, किनकि ऊसँग संयम, संसाधन र स्वायत्तता छैन। चौथो हितचिन्तकहरूको बाहुल्य र उनीहरूको हितको असङ्गतिका कारण शिक्षक सेवा प्रदायक हुन सक्दैन। यदि शिक्षकले कार्यकुशल र प्रभावी हुनु छ भने शिक्षक को हो र उसको काम के हो भन्ने कुरा प्रस्ट गर्नु अति आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्