चाडपर्व आआफ्नै घरमा मनाउन आग्रह

0
54

चिरञ्जीवी सापकोटा, ठोरी, ३२ साउन/
ठोरी गाउँँपालिका वडा नं १ मा आइतवार सर्वपक्षीय भेला सम्पन्न भएको छ। वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले कोभिड–१९ कोरोना भाइरसले भयावह रूप लिइरहेको अवस्थालाई मध्यनजर गर्दै वडावासीलाई सतर्कता अपनाउन आग्रह गरिएको थियो।
सर्वपक्षीय छलफलमा कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको नियम पूर्ण पालना गर्ने गराउने, हरितालिका तीजलगायतका चाडपर्व आइरहेकाले चोक चौतारी, मठमन्दिरलगायतका स्थानमा भीड, मनोरञ्जन नगरी घरपरिवारमा सीमित राखी मनाउने निर्णय गरिएको वडाध्यक्ष कुँवरले जानकारी गराए।
त्यस्तै, सबैले आफ्नो सुरक्षाको लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, पाँचजनाभन्दा बढी जम्मा भएर बस्न नहुने, भोजभतेर, पार्टी, खेलकूद, नाचगानलगायतका क्रियाकलाप नगर्ने नगराउने निर्णय भएको वडाध्यक्ष कुँवरले बताए। उनका अनुसार बाहिरबाट गाउँँ छिरेका मानिसहरूलाई निगरानी गर्ने, कसैलाई शङ्का लागेमा तुरुन्तै सम्बन्धित निकायमा खबर गर्ने, अतिआवश्यक कामबाहेक बाहिर हिंड्डुल, घुमफिर नगर्ने, नगराउने निर्णय गरिएको छ। भारतबाट आउने सामान पूर्णरूपमा बन्द गराउँदै वडाभित्रका सम्पूर्ण पसल अर्काे सूचना प्रकाशित नहुन्जेलका लागि साँझ ६ बजे बन्द गर्नुपर्ने निर्णय गरिएको वडाध्यक्ष कुँवरले बताए।
वडा नं १ ले निर्णय गरेसँगै ठोरी गाउँँपालिकाभित्रका सबै वडाले आआफ्नो क्षेत्रभित्र सबैलाई सावधानी अपनाउँदै कोरोना भाइरसबाट आफू बच्ने र अरूलाई बचाउने कार्यमा सचेत रहन आग्रह गरेको छ।
यसअघि, पालिकाभित्रका वडा नं २, ३, ४ र ५ ले छुट्टाछुट्टै निर्णय गरी आआफ्ना वडावासीलाई सचेत हुन आग्रह गर्दै सुरक्षामा कडाइ गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्