रेणुकाको गुप्त सम्बन्ध

0
41

– सञ्जय मित्र
    रेणुकाको गुप्त सम्बन्धका कारण नै परशुराम त्यति क्रूर बनेका थिए र हजारौंलाई आफ्नो परशुले वध गरेका थिए।
    सन्दर्भ रामायणकालको हो। अहिले रामायणका विभिन्न सन्दर्भहरू प्रसङ्गवश चर्चामा छन्।
    जनकपुरीमा राम–सीता विवाहको समयमा परशुराम–राम संवाद भएको र रामलाई विष्णुको अवतार मानेको वा अत्यधिक रिसाहाको उपाधि पाएका परशुरामलाई पनि विष्णुको अवतार नै मानिएको छ।
    परशुराम प्रसिद्ध हुनुका पछाडि उनका केही सम्बन्ध पनि कारक थिए। उनी विश्वामित्रकी बहिनीका नाति, इक्ष्वाकु राजाका नजीकका नातेदार तथा भृगुवंशका उत्तराधिकारी थिए। साथै त्यस समयका यी तीन त्यस्ता वंशज हुन् जो स्वयं पूजित थिए।
    यीबाहेक परशुरामको निजी व्यक्तित्वले पनि उनको प्रसिद्धिमा बल पु–याएको थियो।
    जमदग्नि र विश्वामित्र मामा–भान्जा थिए। त्यस युगका एक शक्तिशाली राजा थिए – हैहय कार्तवीर्य सहस्रार्जुन। उनको वास्तविक नाम अर्जुन नै थियो तर सहस्रौं हैहयका राजा भएकाले उनलाई सबैले सहस्रार्जुन भन्दथे। उनको अपार सम्मान पनि थियो। सहस्रार्जुन र विश्वामित्र पनि नजीकका नातेदार थिए। दुवै साढु थिए, साख्खै। यसरी सहस्रार्जुन चाहिं परशुरामका सानबा (मौसा) थिए।
    सहस्रार्जुनको मृत्यु परशुरामकै हातबाट आमुन्ने–सामुन्नेको युद्धमा भएको थियो। यसले पनि परशुरामको तत्कालीन प्रसिद्धिमा योगदान दिएको थियो।
    परशुरामको आमाको नाम रेणुका थियो। परशुरामले आफ्नै आमाको पनि हत्या गरेको प्रसङ्ग पाइन्छ।
    सर्वविदित छ – हिन्दू धर्ममा अति श्रद्धेय सप्तर्षिमा जमदग्नि एक हुन्। ऋषि जमदग्निकी पत्नी हुन् रेणुका। जमदग्नि र रेणुकाका पाँचौ पुत्र हुन् परशुराम।
    रेणुकाको उत्पत्तिको विषयमा धेरै तर्क पाइन्छ। समग्रमा उनी इक्ष्वाकु वंशकी राजकुमारी थिइन्। जमदग्निले सरस्वती नदीको किनारमा अवस्थित ऋचिक ऋषिबाट शिक्षा प्राप्त गरेका थिए। ऋचिक ऋषि नै जमदग्निका पिता भएको उल्लेख पाइन्छ। विश्वामित्रले पनि ऋचिक ऋषिबाटै शिक्षा पाएको उल्लेख छ। अर्थात् ऋषि ऋचिकले आफ्ना छोरा जमदग्नि र साला विश्वामित्रलाई शिक्षा दिएका थिए। कालान्तरमा जमदग्नि र विश्वामित्र मिलेर वेदका विभिन्न ऋचाहरूको निर्माण गरे। दुवै प्रसिद्ध वेदर्षि हुन्।
    जमदग्नि र रेणुकाका पाँच पुत्र थिए – रुक्मवान, सुखेण, वसु, विश्वानस र परशुराम। परशुराम कान्छा थिए।
    परशुराम सानैदेखि तीक्ष्ण बुद्धिका थिए। कुनै पनि कुरा तुरून्त सिक्न सक्दथे। आमा र बुबाका आज्ञाकारी सन्तान थिए। त्यस युगका प्रसिद्ध गुरु आफ्ना पिताका सन्तान हुनुमा पनि गर्व थियो परशुरामलाई।
    त्यस समय मृतिकावती पनि एउटा नगर वा राज्य थियो। त्यहाँका राजा थिए चित्ररथ। चित्ररथ गन्धर्व थिए। गन्धर्वराज चित्ररथ सुगठित शरीरका अत्यन्तै रूपवान थिए। भनिन्छ रेणुकाको गुप्त सम्बन्ध चित्ररथसित थियो।
    गन्धर्वराज चित्ररथ अप्सराहरूका साथ विहार गर्दथे।
    हवन तथा अन्य कार्यका लागि रेणुका जल लिन जाने गर्दथिन्। एक दिन हवन समाप्त भएपछि पनि रेणुकालाई यज्ञस्थलमा नपाएर जमदग्नि रेणुकालाई खोज्न निस्के। जमदग्निले पत्नी रेणुकालाई जुन अवस्थामा देखे, त्यसको वर्णन दुई किसिमले गरिएको पाइन्छ। पहिलो, जमदग्निले आफ्नी पत्नीलाई आर्य मर्यादा विरोधी आचरण एवं मानसिक व्यभिचार गर्दै गरेको देखे चित्ररथसित। दोस्रो, जमदग्निले आफ्नी पत्नीलाई चित्ररथसित व्यभिचाररत अवस्थामा देखे। सम्भवतः पहिलोमा आध्यात्मिकता छ भने दोस्रोमा लौकिकता। सत्य के हो ? अहिले बुझ्न सम्भव छैन। तर, रेणुका र चित्ररथको गुप्त सम्बन्ध अकस्मात् प्रकट भएको थियो जमदग्निका अगाडि। जुन अकल्पनीय थियो। अकल्पनीय अमर्यादित सत्योद्घाटनपछि जमदग्नि यति उत्तेजित भए कि पाँचै पुत्रलाई बोलाई रेणुकाको शिरच्छेद गर्ने आदेश दिए।
    भनिन्छ, जमदग्निले पहिले जेठो छोरोलाई आदेश दिए तर उनले आमाको हत्या गर्न नसक्ने भनी असमर्थता प्रकट गरे। क्रमशः अन्य छोराले पनि यही असमर्थता जनाए, तर कान्छो परशुरामले तत्काल परशु उठाएर आमाको शिर काटे। आमाको हत्या गर्न खोज्दा आमालाई बचाउन वा परशुरामलाई रोक्न सबै दाजुहरू दौडेका थिए तर तत्काल सबैको हत्या गरे परशुले। पिता जमदग्नि अत्यधिक खुशी भए परशुरामदेखि। जमदग्निले परशुरामलाई कुनै वर माग्न आग्रह गरेपछि उनले आमालगायत सबै दाइलाई जीवित पारिदिन र आमाको हत्याको घटना विस्मृत होस् भनी वर मागे। कान्छो छोराको बुद्धिको तीक्ष्णताको यहाँ पनि परिचय पाइन्छ।
    रेणुकाको हत्या सहस्रार्जुनलाई मन परेको थिएन र उनले जमदग्निको आश्रममा आक्रमण गरी आगो लगाएर ध्वस्त बनाए। उनको चर्चित गाई
(कपिला कामधेनु) को अपहरण गरे। यसपछि आक्रोशित भएर परशुरामले सहस्रार्जुनसित लडाइँ गरी मारेको प्रसङ्ग पाइन्छ। पछि सहस्रार्जुनका उत्तराधिकारीहरूले परशुरामको अनुपस्थितिमा जमदग्निको हत्या गरे। यसैको प्रतिशोध लिन परशुरामले हैहय वंशसँग एक्काइसपटक युद्ध गरेको चर्चित प्रसङ्ग पाइन्छ। अर्को प्रसङ्ग अनुसार, रेणुका पुनर्जीवित भएपछि रेणुका र चार छोराको वधसम्बन्धी घटनाको लेशमात्र कसैलाई सम्झना थिएन। जमदग्नि र परशुरामलाई भने सबै ताजा थियो। परशुरामले मातृ तथा भ्रातृ हत्या पापबाट मुक्त हुनको लागि आफ्ना पिता एवं गुरु जमदग्निबाट जुन उपाय प्राप्त गरेका थिए, त्यही अनुसार पापमोचनका लागि गएका थिए। त्यही मौका पारी सहस्रार्जुनको हत्याको प्रतिशोध लिन सहस्रार्जुनका छोराहरूले जमदग्निको हत्या गरे। परशुरामकी आमा रेणुका पतिको हत्याबाट विचलित भई पतिकै चिताग्निमा प्रविष्ट भई सती गइन्।
    जमदग्नि–पत्नी रेणुकाकी बहिनी थिइन् सहस्रार्जुनकी पत्नी। सहस्रार्जुनले आफ्नी पत्नीलाई असाध्यै माया गर्दथे। एक किसिमले पत्नीले भनेको काट्न सक्दैनथे। जब उनले दिदीको हत्या भएको कुरा थाहा पाएकी थिइन् उनी क्रोधित भएकी थिइन्। त्यही क्रोधले पति परमवीर हैहय कार्तवीर्य सहस्रार्जुनलाई प्रतिशोध लिन अनुरोध गरेकी थिइन्। पत्नीको अनुरोध टार्न नसकेर हो वा पत्नीको दिदीको मृत्यु भइसकेपछि अब कुनै नाता नै बाँकी रहेन भन्ने मनमा परेर शक्ति प्रदर्शन गर्न हो, त्यस युगका अत्यन्त श्रद्धेय एवं शक्तिशाली जमदग्निको आश्रम लुटे र आगो लगाएर ध्वस्त पारे।
    चित्ररथ र रेणुकाबीच आध्यात्मिक वा लौकिक जुन सम्बन्ध स्थापित भएको होओस् तर त्यसको परिणाम कति भयावह देखियो ? परशुरामलाई रिसको अवतार भनी परिचित गरायो। अध्यात्मले पनि परशुरामलाई विष्णुका छैटौं अवतार (आवेशावतार) मानेकै छ।
    अध्यात्मलाई मान्ने हो भने भगवान् परशुरामकी जन्मदात्री रेणुका र चित्ररथको आध्यात्मिक संयोग लीलाले के स्पष्ट पार्न खोजेको छ ? यो पनि गहन अध्ययनको विषय रहेको छ।
    रेणुकाले चित्ररथलाई पनि अमर बनाएकी छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्