नेपाल–भारत सम्बन्ध

91

– श्रीमन्नारायण
    नेपाल र भारतबीचको सम्बन्ध अद्वितीय र दुवै देशको इतिहासभन्दा पनि पुरानो छ। नेपाल र भारत दक्षिण एशियाका दुई यस्ता मित्रराष्ट्रहरू हुन्, जसलाई भूगोल र इतिहासले एशियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझै बढी प्रगाढ बनाइदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाइदिएको छ। अर्को शब्दमा भन्नुपर्दा नेपाल र भारतबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ। दक्षिणी छिमेकी भारत आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाइरहेको छ। स्वतन्त्र भारतले विगत ७४ वर्षमा प्राप्त गरेको उल्लेखनीय प्रगति हामी सबैको निम्ति प्रेरक साबित हुन सक्दछ।
    नेपाल र भारतको सम्बन्धलाई परिभाषित गर्नु सहज र सरल छैन। सरकारहरूको आफ्नै समस्या, परिस्थिति र अवस्था हुन सक्दछ तर नयाँ दिल्ली र काठमाडौंले निर्धारण गरेको सम्बन्धभन्दा निकै गहिरो र व्यापक यी दुई देशका जनताबीचको सम्बन्ध छ। त्रेतायुगमा अवधका राजकुमार रामको विवाह मिथिलाकी राजकुमारी सीतासित भएको थियो। सीताराम प्रत्येक हिन्दूका निम्ति आस्था, विश्वास र मुक्तिको शब्द बन्न गएको छ। त्रेतायुग (१४ हजार वर्षअघि)मा स्थापित यो सांस्कृतिक सम्बन्ध नेपालको राजपरिवारसम्म कायम रहिआएको छ। सर्वसाधारण नेपालीको विवाह पनि भारतमा र भारतीयको विवाह नेपालमा हुँदै आएको छ। यस वैवाहिक सम्बन्धले कायम गरेको आत्मीयता, मित्रता र सहयोगको भावनाको विश्लेषण सम्भव छैन। नेपाल र भारतबीचको सांस्कृतिक, राजनीतिक एवं आर्थिक सम्बन्धको सूक्ष्म विश्लेषण आवश्यक छ।


  

 सांस्कृतिक सम्बन्ध– नेपाल र भारत हिन्दू बहुसङ्ख्यक राष्ट्र भएर पनि आफूलाई धर्म निरपेक्ष राष्ट्र घोषित गरी सबै धर्मावलम्बीसित समानताको व्यवहार गर्दै आएका छन्। तीन चौथाइभन्दा बढी जनता एक खास (हिन्दू) धर्मलाई मान्ने भएपनि राष्ट्रको चरित्र धर्म निरपेक्ष हुनु यहाँका बहुसङ्ख्यक जनताको उदारता, सहिष्णुता, धैर्यता तथा त्यागको प्रतीक हो। नेपाल र भारत दुवै देशमा आर्य, द्रविड तथा मङ्गोल संस्कृतिलाई मान्नेहरूको समिश्रण हेर्न पाइन्छ। नेपालमा द्रविड संस्कृतिको खासै प्रभाव छैन। गौतम बुद्ध नेपालमैं जन्मेका तथा उनले ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भारतमा प्राप्त गरेकाले बुद्ध संस्कृतिको प्रभाव पनि दुवै देशमा एक समान नै परेको पाइन्छ।
    नेपाल र भारतका अधिकांश भाषाको लिपि देवनागिरी हो, जुन स्पष्टतः संस्कृतबाट लिइएको हो। संस्कृत भाषा हाम्रो साझा धरोहर हो। नेपालमा बोलिने प्रायः सबैजसो भाषा भारतमा पनि बोलिन्छन्। मैथिली र नेपाली भाषा त त्यहाँको संविधानको अनुसूची ८ मा दर्ता भई संवैधानिक मान्यता पनि प्राप्त गरिसकेका छन्। जबकि नेपाली हाम्रो राष्ट्रभाषा हो र मैथिली नेपालीपछि सर्वाधिक बोलिन मातृभाषाको रूपमा आउँछ। चार वेद, अठार पुराण, गीता, श्रीमद्भागवत, रामायण, महाभारत लगायतका प्रायः सबैजसो धर्मशास्त्र हाम्रोनिम्ति साझा धरोहर हुन्। हाम्रो आराध्यदेव ब्रह्मा, विष्णु, महेश, राम, श्रीकृष्ण, सीता, महादुर्गा, काली, महालक्ष्मी, महासरस्वती पनि एउटै हुन्। महावीर, गुरुनानकदेखि लिएर शिरडीका साइँ र विभिन्न इस्लामिक धर्मगुरुहरूको पवित्र मजार पनि हाम्रोनिम्ति साझा नै हुन्। देवकर्मदेखि लिएर पितृकर्मसम्मका धर्मशास्त्रहरू पनि एउटै हुन्। हिन्दूहरूका पवित्र चारधाम केदारनाथ, बद्रीनाथ, रामेश्वरम् तथा पुरी, बा–ह ज्योतिर्लिङ्ग वैष्णोदेवी, गङ्गासागर, कुशीनगर, सारनाथ, बोधगया, तिरुपति, शिरडी, कामरूप कामाख्या र नेपालका पशुपतिनाथ, माता सीताको नगरी जनकपुरधाम, मुक्तिनाथ, गौतमबुद्धको जन्मस्थल लुम्बिनी हाम्रा निम्ति आस्थाका प्रतीक हुन्। एउटा हिन्दूको मृत्युपश्चात् तिनको अस्थिलाई पवित्र गङ्गामा विसर्जन गर्ने मान्यता रहिआएको छ भने मृतकको आत्माको चिरशान्तिको निम्ति गयामा पिण्डदान गर्ने परम्परा पनि रहिआएको छ। धर्म–कर्ममा विश्वास नराख्नेहरूको आआफ्नो फरक मान्यता पनि हुन सक्छन्। भनिन्छ, पशुपतिनाथको दर्शनपश्चात् मात्रै मानिसको जीवन धन्य हुन्छ। हजारौं भारतीय दिनहुँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर र लुम्बिनीको दर्शन गर्न नेपाल आउँछन्। नेपाल र भारतका कला, साहित्य, सङ्गीतले एकअर्का देशका नागरिकलाई अभिन्न बनाइदिएको छ। खानपान, रहनसहन र हावापानी पनि एकजस्तै रहेको छ। भगवान् राम र सीतादेखि लिएर राजपरिवार तथा सर्वसाधारणबीच वैवाहिक सम्बन्धले निरन्तरता पाएको छ।
    राजनीतिक सम्बन्ध– नेपाल र भारतका शासकहरूबीच यदाकदा तिक्तता उत्पन्न भएपनि जनस्तरमा स्थापित सम्बन्धले यस दुई पक्षीय सम्बन्धलाई कहिल्यै कमजोर हुन दिएन। भारतको स्वाधीनता आन्दोलनमा नेपालीहरूले आफ्नो सहभागिता एवं समर्थन जनाएका थिए भने नेपालका प्रायः सबैजसो राजनीतिक परिवर्तनमा भारतले उत्प्रेरक तथा सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ।
    २६ जनवरी १९४७ मा कोलकाताको खालसा कलेजमा नेपाली काङ्ग्रेस
(तत्कालीन अखिल भारतीय–नेपाली राष्ट्रिय काङ्गे्रस)को स्थापना भएको थियो। यसको घोषणापत्रमा नै भारत र नेपालको स्वतन्त्रताको लागि समानरूपले सङ्घर्ष गर्ने कुरा उल्लेख थियो। सन् १९३० मा विपी कोइरालाले हिन्दी भाषामा मुम्बईको एउटा पत्रिकामा ‘स्वतन्त्र भारतकी जय’ शीर्षकमा एउटा कविता लेखेका थिए। नेपालका तीन पूर्वप्रधानमन्त्री स्व. विपी कोइराला बनारस, कृष्णप्रसाद भट्टराई रामनगर तथा गिरिजाप्रसाद कोइराला सहरसा
(भारत)मैं जन्मेका थिए। विपी कोइराला तथा मनमोहन अधिकारी त भारतको स्वतन्त्रता आन्दोलनमा पक्राउसमेत परेका थिए। भारतका दिग्गज नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियाहरूलाई नेपालको जेलमा हिरासतमा राखिएको थियो तर नेपालीहरूले जेल तोडी तिनीहरूलाई मुक्त गराएका थिए। अङ्ग्रेजहरूको दमनबाट बच्न बेगम हजरत महल नेपाली भूमिमा वर्षौंसम्म बसेकी थिइन्। भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीहरूको पनि ठूलो योगदान थियो। अङ्गेजहरूको सहयोगी भएर नेपालमा पनि पारिवारिक शासन चलाएका राणाहरूको शासन अन्त्य गर्न भारतले पनि ठूलो सहयोग गरेको थियो।
    विसं १९६२ मा भारतका पञ्जाबी मास्टर गुरुदयाल बिएले शुक्रराज शास्त्रीका बुबा माधवराज शास्त्रीलाई काठमाडौंको डाँडा कटाउन सहयोग गर्दा शहादत दिएका थिए। नेताजी सुभाषचन्द्र बोसका सहायक पञ्जाब भाक्सुमा जन्मेका मेजर पूर्ण सिंहले नै विसं २००७ सालमा नेपालको जनमुक्ति सेनाको कमान सम्हालेका थिए। राजा त्रिभुवनले काठमाडौंस्थित भारतीय राजदूतावासमा शरण लिई विशेष विमानबाट नयाँ दिल्ली गएका थिए। त्यहाँ नै काङ्ग्रेस, राणा र राजाबीच भएको त्रिपक्षीय सम्झौतापश्चात् नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको त स्थापना नै भारतीय भूमिमा भएको थियो। विसं २०१७ सालमा राजा महेन्द्रले लोकतन्त्रको हत्या गरी देशमा निर्दलीय व्यवस्था लागू गरेपछि दशकौंसम्म नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले निर्वासित जीवन भारतमैं बिताएका थिए। २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यका निम्ति भएको आन्दोलनमा पनि भारतीय नेताहरू चन्द्रशेखर (पूर्वप्रधानमन्त्री) डा सुब्रमण्यम स्वामी, एम फारुकी, हरकिशन सिंह सुरजित र एमजे अकबरहरूले सहयोग गरेका थिए।
    २०५९ सालमा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लोककल्याणकारीहरू सडक सङ्घर्षमा थिए। माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षका कारण देशको शासन व्यवस्थालगायत समग्र तन्त्र नै अस्तव्यस्त हुन पुगेको थियो। झन्डै १७ हजार नेपालीले ज्यान गुमाए पनि समस्या समाधानको कुनै उपाय थिएन। आखिर २०६२ मङ्सिरमा भारतको नयाँ दिल्लीमा आन्दोलनकारी सात दल र माओवादीबीच १२ बुँदे सम्झौतापश्चात् भएको आन्दोलन र भारतको उल्लेख्य भूमिकाका कारण नेपालमा लोकतन्त्रको पुनस्र्थापना मात्रै भएन कि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र भयो। भारतले पनि विश्वका अन्य देशहरूजस्तै नेपालको वैधानिक सत्तासित मात्रै सम्बन्ध राखेको भए या त नेपालमा कुनै परिवर्तन नै सम्भव हुने थिएन अथवा नेपालमा लाखौंले ज्यान गुमाउनुपर्दथ्यो। भारतले नेपालको सरकारसित सुमधुर सम्बन्ध कायम राख्नुका साथै जनस्तरको सम्बन्धलाई पनि विशेष महत्व दिंदै आएको छ।
    आर्थिक सम्बन्ध– मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन तर पनि नेपालको चौतर्फी विकासमा भारतले गरेको सहयोग अग्रणी र महत्वपूर्ण छ। नेपालको आर्थिक विकासमा भारतले गरेको सहयोगको सात दशक बितिसकेको छ। यस अवधिमा सडक, यातायात, रेलवे, हवाईअड्डाको निर्माण, पुलहरू, वीर अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्वास्थ्य क्षेत्र, शिक्षा, विद्यालय, विश्वविद्यालय, प्रशिक्ष्Fण संस्थान, सिंचाइ, जलविद्युत्, सञ्चार तथा सौर्य विद्युतीयकरणको क्षेत्रमा भारतले ठूलो सहयोग गरेको छ।  हामीले १८–१८ घण्टासम्मको लोडसेडिङ सामना गर्नुपर्ने अवस्था थियो तर भारतबाट बिजुली आयात भएपछि यसमा कमी आयो। तत्काल हाम्रो देशमा आफैं पनि आवश्यक बिजुली उत्पादन भइरहेको छ तर भारतसित भएको विद्युत् विकास एवं विद्युत व्यापार सम्झौता तथा प्रसारण लाइनको निर्माणबाट बिजुलीको आयात–निर्यात तथा बिक्री सहज हुनेछ। भारतीय ऊर्जा निर्माण कम्पनीले माथिल्लो कर्णाली र अरुण तेस्रोमा गर्न लागेको लगानीबाट नेपालमा मात्रै २ हजार मेगावाट बिजुली निर्माण हुनेछ। भारतको सहयोग हाम्रोनिम्ति लाभकारी साबित भएको छ। नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना, अवस्था र अनुकूल वातावरणको निर्माण भयो भने नेपालको अर्थतन्त्र बलियो हुन सक्छ। वैदेशिक लगानीको रङ हेर्नुहुँदैन। नेपाल र भारतबीचको दुई पक्षीय सम्बन्धलाई परस्पर सहयोग, विश्वास एवं मित्रतामा आधारित बनाइनुपर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्