कार्टुन !

128

– मुकुन्द आचार्य
    हामी सबै कार्टुन फिलिमका पात्रजस्ता भएका छौं। अथवा कार्टुन फिलिमहरू हेर्ने ससाना सिङाने बालगोपाल भएका छौं। दुवैमा हामी कहाँ छौं त ?
    यसो घोरिएर सोध्नुस् त ! तपाईं भन्नुहोला, अरे यार, यो दुईटै कुरा एकैचोटी कसरी सम्भव हुन्छ ! हुन्छ… हुन्छ… सबै कुरा एकैचोटी सम्भव हुन सक्छ। जसरी नेपालमा जे पनि सम्भव हुन्छ, यो पनि सम्भव हुन्छ।
    अब हो दुवै अवस्थाको अनुमान–अनुभव आदिको आधारमा केही निक्र्योल झिक्ने बेला हामी कार्टुन फिलिमका पात्र–पात्रा हौं त घोरिएर सोच्नैपर्ला जस्तो छ।
    कुरा बुझ्या हो ? मैले त्यत्तिकै हावादारी गफ ग–या हैन। कार्टुनका कलाकार र हामीमा पूरा समानता छ कि छैन त ? एक त संसार झूटो, त्यसपछि संसारमा भएका सबै प्राणी–वस्तु–घटना नश्वर–असत्य, झूटास अनि मान्छे खोक्रो कलाकार मात्र भएन त ? भुराभुरीले हेर्ने, मन पराउने कार्टुन फिलिममा जसरी सत्यताको नितान्त अभाव हुन्छ, सत्याभाससमेत हुँदैन, त्यस्तै आजको मान्छेको चुरीफुरीको कुनै महत्व छैन, यस विशाल ब्रह्माण्डमा। एक प्रकारको कीराले हीरा (मान्छे)लाई चिरा–चिरा पारिदियो।
    हामी फगत पात्र मात्र हौं। सेक्सपियरले यत्तिकै यस्तो भनेका थिएनन्, यो संसार नाटकको एक मञ्च हो र हामी अभिनय गर्ने कलाकार मात्र  हौं।
    गीतामा कृष्णले अर्जुनलाई यै त सम्झाएका थिए, तिमी निमित्त मात्र बन, जे गर्नुपर्छ, त्यो म गरिहाल्छु नि १ पृथ्वीको भार हर्न कृष्णले नै महाभारत गराएका थिए रे !
    लौ त हामी कार्टुनका पात्र–पात्रा भयौं। हामी चाल नै पाउँदैनौं, क्षण–क्षणमा हामी, हाम्रो शरीर, हाम्रा विचारधारा सोच, विश्वास सबैथोक निरन्तर बदलिरहेका हुन्छन्। बाल्यावस्थामा यो शरीर कस्तो क्युट थियो, किशोरावस्थामा काल्पनिक संसारमैं रमाइयो, युवावस्थाको उमङ्ग, जोश, ढुङ्गा खाएर पनि पचाउने शक्ति, प्रौढावस्थामा जोश र होशको सम्मिश्रण, वृद्धावस्थामा आँगन भयो परदेश अनि एक दिन खलास… ! के यै हो त हाम्रो जीवनचक्र ?
    के हो यो चटक ? को हो त चटकी ? कहाँ छ त्यो, चटक गरेर त्यो रमाउँछ रे ! यो नै कुरोको चुरो हो भने हामी सबै कार्टुन नै भयौं। त्यो चटकी ठूलो तानाशाह पो रै‘छ त गाँठे ! कसैले कल्पनै गर्न नसकेको डिक्टेटर। डिक्टेटर पनि कस्तो भने आफ्नै सन्तानलाई नानाथरी दुःख दिएर आफू चैं टुलुटुलु हेरेर आनन्दित हुने, इन्ज्वाय गर्ने ! कुनै पशुले मात्र यस्तो क्रूरता गर्न सक्छ।
    हिन्दीमा उखान छ, ‘घर में आग लगा के जमालो दूर खडी’। के कृपासिन्धु, कृपासागर, करुणावरुणालय, अकारणकरुणा वरुणालय आदि आदि उपाधिले विभूषित भगवान् भनाउँदा ब्रह्माण्डकै सुपरपावरले यति त्रूmर भएर संसार चलाएर बसेका छन् त ? हो भने यो क्रूरको यौटा नाउँ अक्रूर कसरी भयो होला ?
    विश्वमा समय–समयमा ठूल्ठूलो नरसंहार भइरहेको छ, इतिहास छ। लाखौंलाख मान्छे कीरासरी मारिएका छन्। यो सृष्टिको कुन कस्तो नियम हो ? बालकृष्ण समको एउटा नाटक छ–नियमित आकस्मिकता। यो संहार क्रम त्यसै अन्तर्गत पर्छ कि नयाँ हो ? जेहोस्, यो वैश्विक सङ्कटलाई हेर्ने पनि आआफ्नै चश्मा छ। विपीको दोषी चश्मा ?
    सुपर चटके र नेताहरूले हामीलाई कार्टुन बनाएरै छाडे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्