वीरगंजमा सङ्क्रमणदर १५ प्रतिशत

163

प्रस, परवानीपुर, २९ साउन/
वीरगंजमा दैनिक दर्जनौं व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । समुदायस्तरमैं कोरोना सङ्क्रमण फैलेको यसले पुष्टि गर्छ । नारायणी अस्पताल कोभिड प्रयोगशालाका अनुसार वीरगंजको हालको सङ्क्रमणदर १५ प्रतिशतको हाराहारीमा छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार वीरगंजमा साउनयता ७ हजार ३ सय ७८ वटा स्वाब परीक्षणबाट एक हजार ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यसरी कोरोना सङ्क्रमणको तथ्याङ्क निकाल्दा १४.७८ प्रतिशत हुन आउँछ । जबकि साउनअघि सङ्क्रमणदर एकदमै न्यून थियो । कोरोना सङ्क्रमण पहिले भारत वा विदेशबाट आएकाहरूमा मात्र थियो । अहिले अस्पताल, क्वारेन्टाइनबाट बाहिर अर्थात् समुदायस्तरमैं फैलिएको उनले बताए ।

कोरोना सङ्क्रमणको चेन टुटाउन स्थानीय प्रशासनले साउन १० गतेदेखि वीरगंज महानगरभरि र साउन १९ गतेदेखि पर्सा जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । कोरोनाको औषधि अझै कतै उपलब्ध छैन ।

यस्तोमा सङ्क्रमण नसर्ने अनुशासन पालना नगरे आगामी दिनमा कोरोना सङ्क्रमणदर अझै बढ्ने नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी गराए । उनले सर्वसाधारणलाई मास्क प्रयोग गर्न, साबुनपानीले पटकपटक हात धुन, सामाजिक दूरी कायम गर्न, फ्लुजस्तो लक्षण–ज्वरो, रुघाखोकी, श्वासप्रश्वास आदिमा समस्या देखिए तत्काल चेकजाँच गराइ चिकित्सकको सल्लाह अनुसार काम गर्न आग्रह गरे । घरमैं पनि बस्दा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन उनले जोड दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्