ठोरी गापा प्रवेशद्वार सुवर्णपुर बन्द

0
58

प्रस, ठोरी, २९ साउन/
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा औषधिपसलबाहेक सबै पसल, व्यवसायलाई बन्द गराइएको छ । स्थानीयवासी, जनप्रतिनिधिहरूले औषधिपसलबाहेकका पसलहरू होटल, सैलुन, मोटरसाइकल वर्कशप, मोबाइल, टिभी पसल र बजार बन्द गराएका छन् ।

ठोरी गापाको सबै वडा प्रवेश गर्ने वडा नं ५ सुवर्णपुर भएकोले कोरोनाको सङ्क्रमण यहाँबाट अन्य वडाहरूमा सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालेको वडाध्यक्ष रामबहादुर पाख्रिनले बताए । उनले वडास्तरीय निर्णयबाट यो कदम चालिएको बताउँदै सोको बर्खिलाप जानेलाई रु ५ हजारदेखि १० हजारसम्म जरिवाना हुने बताए ।

वडामा भएको सर्वपक्षीय भेलाले ठोरी गापाका अन्य वडाहरू सुवर्णपुर बन्दपछि सुरक्षित हुन सक्ने अनुमान गरेको वडाध्यक्ष पाख्रिनले प्रस्ट्याए । बजार बन्द गर्नुको साथै यहाँ अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई रु १० हजारसम्म जरिवाना हुने उनले बताए ।

सुवर्णपुरमा बाहिरका मानिससमेतले पसल, व्यवसाय सञ्चालन गरेका छन् । कोरोनाको सङ्क्रमणको बेला उनीहरूको आवतजावतबाट पनि जोखिम हुन सक्ने भएकोले यसो गरिएको नागरिक समाजका शम्भु पौडेलले बताए ।

ठोरी गापामा जिल्ला प्रशासन कार्यालय पर्साले साउन १९ गतेदेखि जारी गरेको निषेधाज्ञाको खासै असर परेको छैन । तसर्थ वडास्तरमा सर्वपक्षीय भेला गरेर यस प्रकारको दण्ड जरिवाना गर्ने काम शुरू भएको छ । यसअघि वडा नं ३ र ४ ले सर्वपक्षीय भेलाबाट वडामा अन्य मानिसको आवतजावतमा रोक लगाएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्