गरीब अमेरिकीहरूको भण्डार : वालमार्ट

0
65

 -विश्वराज अधिकारी 
अमेरिकामा बसोवास गर्ने नेपाली मात्र होइन, स्वदेशमा बस्ने धेरै नेपालीलाई पनि थाहा छ, विश्वविख्यात ‘वालमार्ट’ एउटा बृहत् अमेरिकी खुद्रा भण्डार हो । यो भण्डारले विशेष परिचय बनाउनुको प्रमुख कारण यो भण्डारले अन्य प्रतिस्पर्धी अमेरिकी खुद्रा भण्डारभन्दा सस्तोमा अमेरिकी उपभोक्तालाई अनेक घरायसी वस्तु एउटै छतमुनि उपलब्ध गराउँछ । हुन पनि वालमार्ट खुद्रा भण्डारमा दैनिक आवश्यकताका लगभग सम्पूर्ण घरायसी सामान बिक्रीका लागि राखिएका हुन्छन् । वालमार्टको बृहत् भण्डार (Super Center) भित्र प्रवेश गरेपछि गाडी मरम्मत र सैलुन सेवा प्राप्त गर्नुका साथै औषधि, लत्ताकपडा, तरकारी, फलफूल, मासु, दूध एवं दुग्ध पदार्थ, शृङ्गारका सामग्री, फर्निचर, खाद्य वस्तु, तयारी खाना, ताजा खाना, फ्रोजेन खाद्य पदार्थ, जुत्ता चप्पल, खेलौना, कम्युटर, विद्युतीय सामग्री, भाँडा–बर्तन, पेय पदार्थ, बीयर, वाइन आदि खरीद गर्न सकिन्छ ।

कुनै एक उपभोक्ताले खरीद गर्नुपर्ने दैनिक आवश्यकताका लगभग सम्पूर्ण वस्तु एकै ठाउँमा पाइने हुनाले वालमार्टमा उपभोक्ताहरूको समय त बचत हुन्छ नै, चाहिनेजति सामान एकै थलोमा प्राप्त हुने हुनाले उपभोक्ताहरूले उपलब्धता अनिश्चितताको सामना गर्नुपर्दैन । वालमार्ट लोकप्रिय हुनुको यो अर्को र महत्वपूर्ण कारण हो ।
यदि अमेरिकामा वालमार्टजस्तो सस्तो सामग्री पाइने भण्डार नहुँदो हो भए कम आय भएका अमरिकी उपभोक्ताको आर्थिक जीवन सकसपूर्ण हुने थियो । यस सन्दर्भमा वालमार्ट कम आय भएका व्यक्तिका लागि ‘वरदान’ नै भएको छ । हुन पनि समान किसिमको उपयोगिता दिने वस्तु यदि वालमार्टमा एक डलरमा उपलब्ध छ भने त्यही वस्तु अर्को खुद्रा भण्डारमा खरीद गर्दा दुई डलर भुक्तान गर्नुपर्ने हुन सक्छ । औसतमा हेर्न हो भने वालमार्टमा लगभग सम्पूर्ण वस्तु अन्य भण्डारभन्दा सस्तो पाइन्छ । यो कारणले गर्दा अमेरिकामा कम आय भएका परिवारको आर्थिक जीवन सरल हुन पुगेको छ । कम आय भएका लगभग सम्पूर्ण अमेरिकी उपभोक्ता सामान खरीद गर्न वालमार्ट जान्छन् । अमेरिकाको हरेक साना–ठूला शहरमा वालमार्टको उपस्थिति देख्न सकिन्छ ।

वस्तु सस्तोमा उपलब्ध हुने कारणले सबै उपभोक्ता अनेक सामग्री खरीद गर्न वालमार्ट जान्छन् भन्ने पनि छैन । राम्रो वा बढी आय हुने उपभोक्ता अन्य भण्डारमा जान्छन् । अर्थात् यहाँ उल्लेख के गर्न खोजिएको हो भने अमेरिकामा कम आय भएका व्यक्तिका लागि पनि उपभोग्य वस्तु खरीद गर्न पाउने विकल्प छ र त्यो हो वालमार्ट ।
यदि अमेरिकामा वालमार्टजस्तो खुद्रा भण्डार नहुँदो हो त कम आय भएका परिवारको जीवन निर्वाह कष्टकर हुने थियो । हुन पनि यो भण्डारमा केवल एक डलर (अमेरिकी मुद्राको सबैभन्दा तल्लो एकाइ)मा मात्र पनि, एक छाक पेट भर्न पुग्ने खाना खरीद गर्न सकिन्छ । अमेरिकामा प्रतिघण्टा न्यूनतम ज्याला ७ डलर २५ सेन्ट छ । प्रतिघण्टा आम्दानीलाई आधार मानेर हेर्दा अमेरिकामा प्रतिघण्टा आम्दानी (७.२५) को केवल १४ प्रतिशत खर्च गर्दा एक छाक खान पुग्छ । र यो स्थिति वालमार्टले सृजना गरिदिएको हो । वालमार्ट मात्र होइन, अमेरिकामा त्यस्ता अनेक खुद्रा भण्डार छन्, जसले उपभोक्ताहरूलाई अनेक सस्तो सामग्री उपलब्ध गराउँछन् । त्यस्ता खुद्रा भण्डारमा आइकिया, अल्डी, डलर ट्री, स्मार्ट सेभर, डलर जेनरल आदि पर्दछन् ।

‘बचत गरौं, आरामपूर्वक जीवन गुजारौं’ (Save money life better) भन्ने वाक्यलाई वालमार्टले आफ्नो मूलभूत उद्देश्य (Mission) को रूपमा लिएको छ । वालमार्टको यो उद्देश्यको अर्थ हो, सस्तोमा अनेक सामग्री उपलब्ध गराएर उपभोक्ताको जीवन सुविधायुक्त तुल्याउनु । अर्थात् बढी मुनाफा गर्ने मात्र उसको उद्देश्य होइन । उसको उद्देश्य समुदायको सेवा (सस्तोमा उपलब्ध गराएर) गर्नु पनि हो ।

वालमार्टले सस्तोमा अनेक सामग्री कसरी उपलब्ध गराउन सकेको छ ? यो प्रश्न भने ज्यादै महत्वपूर्ण एवं चिन्तनको विषय हो । वालमार्टले अनेक उपाय गरेर अनावश्यक लागत कटौती गर्दछ र त्यसरी गरेको बचतको प्रयोग उपभोक्ताहरूलाई सस्तो सामग्री उपलब्ध गराउन गर्दछ । एउटा उदाहरण हेरौं– वालमार्टको प्रमुख प्रशासकीय कार्यालयले आफ्नो अनेक भण्डारहरूका लागि चाहिने सामग्री प्रत्यक्षरूपमा उत्पादकहरूसँग खरीद गर्दछ र बिचौलियाले पाउने नाफा जोगाउँछ ।

यसैगरी, केवल ‘आवश्यक समयमा’ (Just in Time) अवधारणाको प्रयोग वालमार्टले निकै गर्छ । यो अवधारणाले सामान पहिलेदेखि किनेर थुपार्नु होइन किनभने थुपार्दा भण्डार लागत (Inventory Costs) बढेर सामानको बिक्री मूल्य बढी हुन्छ भन्ने मान्यतामा विश्वास गर्छ । आवश्यक परेको बेलामा मात्र खरीद गर्न भन्छ । वालमार्टले यो अवधारणामा विश्वास गरेर पहिलेदेखि थुपारेर धेरै मोज्दात राख्दैन । जब वस्तु आवश्यक पर्छ, अनि खरीद गर्छ । अर्थात् वालमार्टले उत्पादकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर आफूलाई चाहिए अनुसार, वा आवश्यकता अनुसार सामग्री खरीद गर्छ, पहिलेदेखि मौज्दात थुपार्दैन र यसरी मौज्दात लागत वा भण्डार लागत कम पार्छ । यसरी बचत हुन आएको भण्डार लागतको प्रयोग उपभोक्ताहरूलाई सस्तोमा सामान उपलब्ध गराउन गर्छ ।

लागत नियन्त्रण गर्ने वालमार्टसँग अनेक तरीका छन्, जसमध्ये अर्को तरीका हो ‘स्वयम् भुक्तानी’ (Self-Checkout) । यो तरीका निकै लोकप्रिय छ । यस तरीका अन्तर्गत क्रेताले सामान खरीद गरेपछि भुक्तानीका लागि विक्रेता (Cashier) समक्ष जानुपर्दैन । एउटा मेशिनमा गएर खरीद गरेको वस्तुको भुक्तानी गरे हुन्छ । उक्त मेशिनले वस्तुको बारकोड हेरेर मूल्य जोड्दै जान्छ र क्रेताले भुक्तानी गर्नुपर्ने रकम देखाउँछ । उक्त मेशिनलाई नगद वा क्रेडिट कार्डद्वारा भुक्तानी गर्दा हुन्छ । सोही मेशिनको छेउमा झोलाहरू पनि राखिएका हुन्छन् । खरीद गरेका ती वस्तु त्यसै झोलामा राख्ने गरिन्छ ।

यसरी केही अवस्थामा विक्रेता (मानवशक्ति) प्रयोग नगरेर, सेल्फ चेकआउट प्रयोगमा ल्याएर, वालमार्टले बिक्री लागत कम पार्छ र बिक्री लागत कम भएर हुन आएको बचत वस्तुको मूल्य कम पार्न प्रयोग गर्छ ।

वालमार्टले लागत कम पार्ने अनेक विभिन्न तरीका पनि प्रयोग गर्छ– खरीद बिक्री जगत्मा वालमार्ट आधुनिक युगको चमत्कार नै हो । वालमार्ट भण्डारहरूको उपस्थितिले गर्दा नै गरीब अमेरिकीहरूको जीवन सरल हुन सकेको छ । अमेरिकामा गरीबहरूको सङ्ख्या कम छैन । शहरका पुलमुनि जीवन गुजारा गर्न बाध्य घरबारविहीन गरीब अमेरिकीहरूको सङ्ख्या पनि हजारौंमा छ ।

यस लेखमा वालमार्टको विशेष चर्चा किन गर्न खोजिएको हो भने हामी कहाँ सामानको मूल्य कम गर्न उत्पादक र विक्रेता दुवैले पटक्कै ध्यान दिंदैनन्, वालमार्टले जस्तो गर्दैनन् । नेपालमा वस्तुको मूल्य कम पार्ने अपार सम्भावना भए तापनि यो विषयलाई उत्पादक एवं विक्रेता दुवैले पूर्णरूपले बेवास्ता गरेको पाइन्छ । वस्तुको मूल्य कम पार्न  व्यापारीहरूले पटक्कै चासो लिएको पाइँदैन । यो विषयलाई अनावश्यक ठानिन्छ । कम मूल्य राख्ने तर ठूलो परिमाण बिक्री गर्ने । अनि दीर्घकालमा बढी मुनाफा गर्ने । यो सिद्धान्तमा नेपाली विक्रेताहरूको विश्वास छैन । बहुसङ्ख्यक नेपाली विक्रेता छोटो समयमा करोडपति हुन चाहन्छन् । यसले गर्दा पनि नेपालमा व्यापार विकास हुन सकेको छैन । महँगीले उपभोक्ताहरूको ढाड भाँचिएको छ । र गरीबहरूको जीवन कष्टकर हुन पुगेको छ । अनि ज्याला–मजदूरी गर्न अरबका देशहरूमा पुग्नुपरेको छ ।
नेपालमा वस्तुको मूल्य कम पार्न सकिने हजारौं उदाहरण छन् । यहाँ केवल एउटा उदाहरण हेरौं– नेपालमा बर्सेनि ठूलो परिमाणमा कृषि मलको आवश्यकता पर्छ । र अनेक देशबाट कृषि मल खरीद गरिन्छ । तर देशभित्र मल उत्पादन गरिंदैन । उन्नत प्रविधि प्रयोग गरेर नेपालमैं मल उत्पादन गर्ने हो भने मलको मूल्य कम पार्न सकिन्छ, साथै किसानले माग गरेको समयमा मल उपलब्ध गराउन सकिन्छ ।

नेपाल प्रचुर सम्भावना भएको देश हो । तर बौद्धिक कुशलताको कमीले गर्दा ती सम्भावनाहरूको उपयोग गर्न सकिएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्