मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न प्रशासनको निर्णय

0
44

प्रस, वीरगंज, २४ साउन/
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समिति, पर्साको शुक्रवार बसेको बैठकले निषेधाज्ञा जारी रहेको अवस्थामा बन्द भएका अत्यावश्यक सेवाबाहेकका उद्योग, व्यवसाय, पसल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको समितिको बैठकले सातवटा निर्णय गरेकोमा निर्णय नं. ६ मा साउन १० गतेदेखि सदरमुकाम वीरगंज र साउन १९ गतेदेखि जिल्लाभरि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरी निषेधाज्ञा जारी गरेकोमा पसल, उद्योग, व्यवसाय सञ्चालन र बैंकिङ सेवा सुचारु गर्न स्थानीय तह, प्रहरीसँग समन्वय गरेर खोल्न दिने निर्णय गरेको छ। न्यूनतमरूपमा भएपनि बैंकिङ सेवा शुरू गर्न र पसल, व्यवसाय सेवा सञ्चालन गर्दा स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी भीडभाड नगरी उचित समयमा स्थान तोकेर सेवा सञ्चालन गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी सुम्पेको छ।
यसैगरी, बैठकले सामुदायिक आइसोलेशन सिद्धार्थ मावि र गोपाल मण्डलीमा सञ्चालन गर्ने र जिल्ला प्रहरी कार्यालय, पर्साका थुनुवाहरूलाई राणीसती अतिथि सदनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। यहाँको खाना र नास्ताको लागि स्वास्थ्य मन्त्रालय, मन्त्रिपरिषद् र मुख्यमन्त्रीको कार्यालयसँग अनुरोध गर्ने र तत्काल जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्ने निर्णय गरेको सहायक प्रजिअ ललित बस्नेतले जानकारी गराए। बैठकले नारायणी अस्पतालको सुपरीवेक्षण रहने गरी सामुदायिक आइसोलेशनमा वीरगंज महानगरले स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, जिल्लामा बढ्दो सङ्क्रमणसँगै सङ्क्रमितहरूको उचित व्यवस्थापनको लागि कोभिड अस्थायी अस्पताल गण्डक र वीरगंज हेल्थकेयर पर्याप्त नभएकाले कम्तीमा ३ सय शय्याको लागि नेशनल मेडिकल कलेजमा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालय र केन्द्रीय सङ्कट व्यवस्थापन समितिसँग अनुरोध गरेको छ।
सङ्क्रमण बढेसँगै लक्षण भएका सङ्क्रमितलाई मात्र सदरमुकाम वीरगंजमा ल्याउन र सामान्य सङ्क्रमितहरूलाई स्थानीय तहले आफैंले आइसोलेशन तयार गरेर व्यवस्थापन गर्न निर्देशन दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्