भ्रष्टाचारविरुद्धको शिक्षा आजको आवश्यकता

0
47

– अनन्तकुमार लाल दास
“जब–जब टेलिभिजन खोल्छौं–भ्रष्टाचारकै खबर सुन्छौं/प्रमुख समाचारहरूमा/नेताहरूको कमाल पाउँछौं।” समाज राष्ट्रिय विकासको आधारशिला हो। मानिसहरू समाजमा बसेर जीवनयापन गर्दै अनेकथरी क्रियाकलाप गरेर निजी र राष्ट्रिय विकास गर्दछन्। जुन समाजका मानिसहरूको प्रवृत्ति राम्रो हुन्छ, त्यो समाज सभ्य कहलिन्छ र जहाँ दुष्प्रवृत्ति हुन्छ, त्यो समाज पतनतिर उन्मुख हुन्छ। आज कोरोना महामारीको यस घडीमा सङ्घदेखि स्थानीय सरकारले भ्रष्टाचार गरिरहेको खबरले आम नेपालीलाई विचलित बनाएको छ। भ्रष्टाचार कोरोना महामारीभन्दा पनि भयावह र घातक रोग हो। कोरोनाको असर एक वा दुई वर्षमा समाप्त हुन्छ तर भ्रष्टाचारको असर दशकौंसम्म रहन्छ। आज भ्रष्टाचारले समाजका विभिन्न क्षेत्रमा नकारात्मक असर पु–याएको छ, जसको क्षतिपूर्ति सम्भव देखिंदैन।
भ्रष्टाचारको अर्थ भ्रष्ट आचरण हो अर्थात् मन, वाणी र कर्मले भ्रष्ट हुनु। यो यस्तो भयावह बिमारी हो, जसले राष्ट्रमा अशान्ति, अस्थिरता, स्वार्थपरता र अनैतिकतालाई सघाउँछ। हाम्रो अन्तर्मनलाई खोक्रो बनाउँछ। यस अन्तर्गत सदाचारको पतन, अधिकारको दुरुपयोग, पदीय दायित्वको दुरुपयोग, कर्तव्यहीनता तथा आदर्श, जवाफदेहिता र उत्तरदायित्वको कमी र घूसजस्ता विकृतिले स्थान पाएको हुन्छ। यसरी यसले पारेको असरबारे लोकतान्त्रिक नेपालमा जनचासो बढ्दै गएको छ। हाम्रो समाजमा आँखा छलेर खराब काम गर्ने संस्कृति छ। मैले पनि केही खराब काम गरेको हुँला भनेर कोही आफूतिर फर्केर हेर्दैन। यस्ता कमजोरी वा आँखा छली गर्ने काम सबैले सच्याउँदै गए, समाज ‘करप्ट’ दिशाबाट ‘करेक्ट’ दिशामा हिंड्न थाल्छ।
वास्तवमा राजनीतिक भ्रष्टाचार नै सबै कुरीतिको जन्मदाता हो। आज नेता बन्नका लागि टिकट पाउन र मन्त्री बन्नसम्म भ्रष्टाचारलाई नै औजारको रूपमा प्रयोग गरिन्छ। राजनीतिक हिंसा, अत्याचार, अनाचार आदि यसै अन्तर्गत पर्दछन्। देशको वर्तमान दुरवस्थामा राजनीतिक भ्रष्टाचार नै व्याप्त छ। अर्को खाले भ्रष्टाचार भनेको प्रशासनिक भ्रष्टाचार हो। यस्तो भ्रष्टाचार पियनदेखि कर्मचारी, अधिकारी, सचिव र उच्चाधिकारीसम्म पर्छन्। ‘पैसाले हुन्छ काम’ भन्ने नीति यहाँ लागू हुन्छ। कठिनभन्दा कठिन काम पनि घूसको बलमा फटाफट भइहाल्छ। फाइल गायब हुन सक्छ र त्यसमाथि टिप्पणी पनि लेख्न सकिन्छ। तेस्रो खाले भ्रष्टाचार हो, व्यावसायिक भ्रष्टाचार। जस्तै खाद्यपदार्थमा मिसावट, घटिया वा नक्कली औखति, जमाखोरीले समाजलाई कमजोर बनाउँछ। यसबारे एउटा भारतीय कविले के भनेका छन्– “कर रहा है साजिश अँधेरा, सीढियों में बैठकर/रोशनी के चेहरे पर, क्यों कोई हरकत नहीं।”
भ्रष्टाचार जन्मिनुको कारण पाश्चात्य भौतिकवादी जीवनदर्शन हो। धेरै धन आर्जन गर्ने प्रवृत्तिले भ्रष्टाचारलाई बढावा दिएको छ। भौतिक सुखको लालसा हुनुको साथै वर्तमानमा प्रतिस्पर्धा र एकअर्कालाई उछिन्ने होड पनि चलिरहेको छ। सँगसँगै मानिसहरू आज संसारको हरेक सुख भोग्न चाहन्छन्। आय कम भएपछि बढी धनको चाहनामा अनुचित साधन प्रयोग गर्न थाल्छन्। स्वाभाविक हो, अनैतिक तवरले धन आर्जन गर्ने कोशिशले भ्रष्टाचारलाई जन्माउँछ। धर्म, राजनीति, लोकसेवा होस् वा शिक्षा, व्यापार वा सरकारी विभाग सबै ठाउँमा भ्रष्टाचारले प्रवेश पाएको छ। विद्यालय र कलेजमा शिक्षाको दशा दयनीय बनेको छ। शिक्षकहरूद्वारा निजी ट्युशनको माध्यमले बढी धन उपार्जन गरिन्छ। अर्कोतिर भ्रष्टाचार गर्नेहरूले मानसम्मान पाउनु, दण्डविहीनता हुनु अनि सजायको भागी नहुनुजस्ता कुराले वर्तमानलाई चिन्तित तुल्याएको छ।
भ्रष्टाचारीलाई दण्डित र नाङ्गो बनाउनेतर्फ सबैले चासो देखाउनुपर्छ। प्रत्येक नागरिकलाई यसतर्फ अभिप्रेरित गर्न राज्य सक्रिय हुनुपर्दछ किनभने प्रत्येक चेतनशील नागरिक, समाज, समुदाय र राष्ट्रबाट भ्रष्टाचार नियन्त्रण र उन्मूलन गर्ने अठोट र प्रतिबद्धताका साथ संलग्न हुनुपर्ने बेला आइसकेको छ। कक्षामा सामाजिक शिक्षा अन्तर्गत ‘भ्रष्टाचार’ पाठ पढाउँदा विद्यार्थीहरूलाई यसप्रति सजिलै सचेत गराउन सकिन्छ। यसको लागि भ्रष्टाचारको जरामा पुगेर यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल गराउन सकिन्छ। लघु नाटक र नारा तयार गर्न लगाउनुपर्छ। यसमाथि वादविवाद प्रतियोगिताको आयोजना गर्न सकिन्छ। कक्षामा स्रोतव्यक्तिलाई बोलाइ संवाद गराउन सकिन्छ। मस्तिष्कमा रहेका फोहरमैला फ्याँक्ने उपाय सदाचारयुक्त नैतिक शिक्षाले नै प्रदान गर्न सक्दछ। यी भावनाहरूको जागरण बाल मस्तिष्कबाट नै शुरू गराउनुपर्दछ भन्ने धारणा लिएर विद्यालयस्तरीय भ्रष्टाचारविरोधी जन पैरवी एवं शिक्षणको खाँचो बढ्दै गएको छ। कक्षामा विद्यार्थीहरूले भ्रष्टाचारबारे सोध्ने प्रश्नहरूले उनीहरूको चासो उजागर गर्दछ र भ्रष्टाचारले समाजको कुन तहसम्म जग बसाएको छ, त्यो देखाउँछ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको बर्सेनि प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको ठूलो सञ्जाल रहेको देखाइरहेको छ। भ्रष्टाचारको निदान सहज छैन, तर यसलाई रहिरहन दियौं भने यसको व्यापक फैलावटले सबैभन्दा पहिले मानवीय नातामा कुठाराघात गर्छ। त्यसपछि सिङ्गो देशमा शान्ति रहन दिंदैन। कुनै पनि एक पक्षको प्रयासले प्रतिदिन मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन। सरकारी र गैरसरकारी सङ्घसंस्था तथा नागरिक समाजको साझा प्रयास एवं पारस्परिक सहकार्यबाट मात्र भ्रष्टाचार न्यून गर्न सकिन्छ। अर्को अर्थमा भ्रष्टाचार तथा आर्थिक अनियमिततालाई घटाउन सबै पक्षको सङ्गठित दबाबको खाँचो छ।
भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो हो। किनभने आजको बाल मस्तिष्कको विकास नै भोलिको राष्ट्रनिर्माणको सम्बल हो। त्यसैले आजको बाल मस्तिष्कमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा ज्ञान, सीप र धारणा स्पष्ट पार्न सकिएमा भोलिको नेपाल स्वच्छ हुन सक्छ। त्यसैले विद्यार्थीहरूबीच यस विषयमा गम्भीर छलफलको खाँचो छ। विद्यार्थीहरूबाट समयको भ्रष्टाचार, सेवाको भ्रष्टाचार, नियमको उल्लङ्घनबाट उत्पन्न अनियमितताजन्य भ्रष्टाचारको चर्चाले उनीहरूको दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ। भ्रष्टाचार, आर्थिक मात्र हुँदैन, नैतिक पक्षहरूलाई पनि विद्यार्थीमाझ बढी फिंजाउनुपर्छ।
यहींनिर अर्को कुरा पनि उठ्छ। त्यो के भने, हाम्रो सन्दर्भमा कहीं शिक्षाले नै भ्रष्ट हुन त सिकाएको होइन, किनभने विद्यार्थीहरूको बुझाइ र हेराइमा शिक्षित व्यक्ति नै बढी भ्रष्ट देखिएका छन्। विद्यार्थीहरूलाई जसरी सिकाउनुपर्दथ्यो त्यसरी नसिकाएर वा सिकाउने तत्परताको कमीका कारण त भ्रष्टाचार मौलाएको होइन ? आफूभित्रको भ्रष्टाचार देख्ने क्षमताको विकासले निश्चय पनि विकारको उपचार हुन सक्छ। भ्रष्टाचार स्वयंबाट पहिचान हुने अवस्था सिर्जना हुनु दिगो समाधानको उपाय हो। यसै क्रममा प्रायः प्रश्न उठ्ने गर्छ, हामीले विद्यार्थीहरूलाई दाँत माझ्न र सफा रहन सिकाएका छौं तर किन सम्भव भइरहेको छैन ? कारण के छ भने ब्रश र मञ्जन किन्ने क्षमता नहुनेलाई दाँत माझ्ने तरीका सिकाउनु कति व्यावहारिक हुन्छ ? अभिभावकको क्षमता अनुसार शिक्षा दिने कि समयको माग अनुसार। यसको निक्र्योल कसले र कहिले गर्ने भन्ने प्रश्न पनि उठ्छ।
हाम्रो प्रयास भ्रष्टाचारीलाई सदाचारी बनाउनु नभएर अबको पुस्तालाई भ्रष्टाचारी नै बन्न नदिने हुनुपर्दछ। यी विद्यार्थी नै भोलिको नूतन समाजका निर्माता भएकाले नयाँ बाटो खन्न हामीले उत्प्रेरणा जगाउनुपर्छ। विद्यार्थीहरू राष्ट्रका कर्णधार हुन् साथै भविष्यका निर्माता पनि। उनीहरूमा शारीरिक, मानसिक, मनोवैज्ञानिक, सांस्कृतिक एवं संवेगात्मक विकासका साथ सदाचारको समायोजन पनि जरुरी छ। एउटा भ्रष्टाचारविरोधी मानसिकता बोकेको पीढी तयार भयो भने त्यसले सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्नेहरूमाथि कडा कानूनी प्रक्रिया, इमानदारलाई समाजमा इज्जत, आदर, प्रशंसा प्राप्त गराउन ठूलो योगदान पु–याउँछ। त्यसैले एउटा उत्तरदायित्वपूर्ण पुस्ता विकसित गराउन विद्यालयकालदेखि नै विद्यार्थीहरूलाई प्रेरित गर्न विद्यालयमा भ्रष्टाचार र सदाचारको विषयमा प्रस्टता ल्याउनुपर्छ।
विद्यार्थीहरूलाई बुझाउनुपर्ने अर्को पक्ष के हो भने भ्रष्टाचार किन बढिरहेको छ ? भ्रष्टाचार बढ्नुका पछाडि जनचेतनाको कमी, आर्थिक एवं सामाजिक न्यायको अभाव, समस्याप्रति गैरजवाफदेहिता, नातावाद–कृपावादको बाहुल्य, दलगत पक्षपातजस्ता एकथरी कारणहरू छन् भने नैतिकताको –हास, राजनीतिक असहज वातावरण, सामन्ती सोच र संस्कारको प्रबलता, खर्चिलो निर्वाचनजस्ता अर्काेथरी कारण छ। सबैभन्दा ठूलो कारण त भ्रष्टाचार नियन्त्रणप्रति राजनीतिक तथा प्रशासनिक प्रतिबद्धताको अभाव नै हो। यी सब कारणले गर्दा नै प्रशासनिक, राजनीतिक, न्यायिक तथा आर्थिकदेखि निजी क्षेत्रको सेवामा समेत भ्रष्टाचारी प्रवृत्ति बढ्दै गएको छ। यसको व्यापकताले उत्पन्न जटिलता र सीमारहितताका कारण सामाजिक मूल्य र मान्यताको क्षय भइरहेको छ।
सदाचारले साधारणतया समाजमा सत्कर्र्म, पारस्परिक सहयोग, आध्यात्मिक अनुष्ठान, योगसाधना, पूजाआजा र भजनकीर्तन, परोपकारी र सामाजिक बन्धुत्व विकासको अनुक्रिया बुझाउँछ, तर वर्तमान परिप्रेक्ष्यमा विद्यार्थीमा सामाजिक सदाचारप्रतिको अवधारणा, त्यसको व्याख्या, विश्लेषण र अनुसरण गर्ने सवालमा व्यापक परिवर्तन गर्नुपर्छ। राजनीतिक, प्रशासनिक, न्यायिक क्षेत्रदेखि समाज सेवा तथा निजी क्षेत्रसमेतलाई समेटिनुपर्दा यसको क्षेत्र व्यापक भएको तथ्यलाई स्वीकार्नु जरुरी छ भने भ्रष्टाचारविरुद्ध सदाचार पद्धतिको विकास आवश्यक रहेको छ।
यस्तो आवश्यकतालाई दृष्टिगत गर्दै भ्रष्टाचारविरुद्ध सदाचार पद्धति विकास र कुशासनविरुद्ध सुशासन बहालीका सन्दर्भमा व्यक्ति र समाजबीच अन्तर्सम्बन्ध र सार्वजनिक संस्थामा व्यक्तिको भूमिकातर्फ बहस चलाउनुका साथै व्यक्तिमा अन्तर्निहित इमानदारिता, कर्तव्यपालना र देशभक्तिजस्ता उच्च नैतिक मूल्यको समायोजनलाई निरन्तरता दिनु आवश्यक हुन्छ, किनभने सदाचार पद्धतिको विकास र सुशासन बहालीमा व्यक्तिको सामाजिक व्यवहारसित सम्बद्ध शिक्षा र सीप अनुसारको योग्यता, दक्षतासहितको कुशलताले बढी महत्व राख्दछ। महत्व यस कारण पनि कि विश्लेषणात्मक एवं विभेदात्मक क्षमता, कार्यमुखी एवं परिणाममुखी सोच, कार्य सम्पादन र उत्तरदायित्व वहन गर्ने दृढ इच्छाशक्तिकै कारण सदाचार र सुशासनका मामिलामा राम्रो परिणाम प्राप्त हुने स्थिति तयार हुन्छ भने नयाँ–नयाँ कार्यक्रमहरूको कार्यान्वयन हुने वातावरण अनुकूल बनिरहन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्