कोरोनामा रेमडेसिविरको वीरगंजमा सकारात्मक नतीजा

0
47

राधेश्याम पटेल, वीरगंज, २५ साउन/
    कोरोना भाइरस सङ्क्रमणबाट बचाउन विश्वभरि उपयोगी साबित भइरहेको रेमडेसिविर इन्जेक्शनको आधिकारिक आयात गर्न नेपाल सरकार तयारीमा जुटेको छ। औषधि व्यवस्था विभागमा दर्ता गरी कानूनीरूपमा भारत वा तेस्रो मुलुकबाट आयात गर्ने बाटो खोल्न सरकारी पक्ष जुटेको बताइएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग भएको कुरामा उनले चाँडै मन्त्रिपरिषद्बाट यो औषधि विभागमा दर्तामा गरी आयात गर्न छलफल चलिरहेको बताए।
    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले भने– “रेमडेसिविर इन्जेक्शन नेपालमा आयात गरी सङ्क्रमितलाई दिइयो भने मृत्यु घट्नेछ।”
    कोरोनामा अहिलेसम्म प्रभावकारी देखिएको विश्वभर चर्चित यो औषधि आयात गर्न नेपाल सरकार अघि सरेन भने तस्करीको बाटो भएर यसको उपयोग हुन सक्ने वीरगंजका चिकित्सक डा नीरजकुमार सिंहले चेतावनी दिएका थिए। त्यसपछि सञ्चारमाध्यममा सरकारको कडा आलोचना शुरू भएको थियो। विराट हस्पिटलका सञ्चालकलाई पनि भारतको कोलकाताबाट विमान चार्टर गरी औषधि मगाएर दिइएको थियो। त्यसैगरी एक सातायता वीरगंजको गण्डक कोभिड अस्पतलामा पनि रेमडेसिविरको प्रयोग भएको एकजना चिकित्सकले बताएका छन्। “यो औषधि अहिले नेपालमा प्रतिबन्धित छ। सङ्क्रमितको जीवनरक्षा गर्न रेमडेसिविर इन्जेक्शनको अवैध प्रयोग भइरहे पनि यसको नतीजा सकारात्मक छ,” वीरगंजका एकजना चिकित्सकले भने, “दुई लाख रुपैयाँमा १० थान इन्जेक्शन मगाइएको थियो, ६ भाइल एकजनालाई र ४ भाइल अर्को एकजनालाई दिइएको थियो। त्यसैगरी, एकजना भारतीय नागरिकले पनि भारतबाट सो इन्जेक्शन मगाएर प्रयोग गरेका थिए।” रेमडेसिविर इन्जेक्शन लगाएका एकजना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने अर्का एकजना आइसियूमा छन्। गण्डक अस्पतालमा एकजना सङ्क्रमितको अवस्था सिकिस्त रहेकोमा उनको लागि यो औषधि पाउन समस्या देखिएको छ। केही मानिस यो औषधि रक्सौलसम्म मगाएर वीरगंज ल्याउने प्रयासमा जुटेको चिकित्सक स्रोतको दाबी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्